इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश हटाउँदै त्यसको सट्टा निषेध आदेश लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यू साउन १६ गते (आज) बिहान ८ः३० बजेदेखि हटाइएको हो। कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निषेध आदेश जारी गरिएको छ।
निषेध आदेशअनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
निषेध आदेश इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र, साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका सम्पूर्ण क्षेत्रमा लागू हुनेछ।
प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न निषेध आदेश जारी गरिएको जनाएको छ।
देवानगञ्ज–३ कप्तानगञ्जमा गत आइतबार राति भएको गोलीकाण्डपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले यसअघि कर्फ्यू आदेश जारी गरेको थियो।













Discussion about this post