इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० स्थानीय तहमा लागू रहेको निषेधाज्ञा आइतबार बिहान ९ बजेसम्मका लागि थप गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार सूचना जारी गर्दै साउन १६ गते साँझ ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म निषेधाज्ञा कायम रहने जानकारी दिएका हुन्।
देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले साउन १२ गते राति ९ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो। शनिबार बिहान ८ः३० बजे कर्फ्यू हटाएर साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको थियो।
त्यसपछि सुरक्षा अवस्थालाई मूल्याङ्कन गर्दै निषेधाज्ञाको अवधि दोस्रो पटक थपिएको हो।
निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका सम्पूर्ण क्षेत्रमा लागू रहने प्रशासनले जनाएको छ।
निषेधाज्ञा अवधिमा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न प्रतिबन्ध रहने प्रशासनले जनाएको छ।













Discussion about this post