इटहरी : जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा र्याली निकालिएको छ ।
नागरिक समाजको अगुवाइमा शनिबार आयोजित र्यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए । ¥याली रामधुनीको झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका बाढी, डुबान, पहिरो, अनियमित वर्षा तथा तापक्रम वृद्धिलगायतका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए । सहभागीले ‘हामी जलवायु न्याय चाहन्छौँ’, ‘वातावरण संरक्षण गरौँ’ लगायतका सन्देश दिएका थिए ।
पछिल्लो समय भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट भएको ठुलो जनधनको क्षतिलाईसमेत जलवायुजन्य विपद्को जोखिमसँग जोड्दै प्रभावित समुदायको संरक्षण र क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिइयो ।
कार्यक्रमबारे जानकारी दिँदै स्थानीय सुमन पौडेलले जलवायु परिवर्तनको असर स्थानीय समुदायले प्रत्यक्ष रूपमा भोगिरहेको बताए । उनले भोटेकोशीमा आएको भीषण हिमबाढीले जलवायुजन्य विपद्को जोखिम र त्यसबाट हुने क्षतितर्फ गम्भीर हुनुपर्ने अवस्था देखाएको बताए ।
‘जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी पहल आवश्यक छ । जलवायु परिवर्तनमा कम योगदान गर्ने नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिका लागि प्रभावित समुदायले उचित क्षतिपूर्ति पाउनुपर्छ,’ पौडेलले भने।
जलवायु परिवर्तनको असरबाट किसान, विद्यार्थी तथा विपन्न समुदाय बढी प्रभावित भइरहेकाले जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने स्थानीय शिशिर भट्टराईले बताए ।
उनले जलवायु परिवर्तनको असर न्यूनीकरण, वातावरण संरक्षण तथा विपद् जोखिम कम गर्न स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी पहल आवश्यक रहेको बताए ।













Discussion about this post