उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले कानुनी प्रक्रिया पूरा गरी जग्गा जोतभोग गर्दै आएका किसानलाई सोमबार प्रमाणपुर्जा वितरण गरेको हो।
नगरपालिकाभित्रका ६ हजार २०० परिवारको जग्गा नापजाँच गरिएकोमा पहिलो चरणमा ३६४ जनालाई भोगाधिकारको प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ। भूमि समस्या समाधान आयोगको सहकार्यमा सुरु गरिएको यस अभियानअन्तर्गत करिब ५ हजार २०० जनालाई निकट भविष्यमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।
नगरप्रमुख कालुमान लामाले स्थानीयको वर्षौंदेखिको जग्गाविहीनताको अवस्था अन्त्य गर्दै जोतभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व दिलाउन नगरपालिका क्रियाशील रहेको बताए।
उनका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पनि प्रमाणपुर्जा वितरणको प्रक्रिया अघि बढाइएको छ।
चौदण्डीगढी नगरपालिका–२ अन्तर्गत झगडापाटा गाउँबाट सोमबारदेखि जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु गरिएको नगरप्रमुखलामाले जानकारी दिए। यसअघि नगरपालिकाका विभिन्न वडाका ३४३ जना किसानलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताए।
नगरभित्रका सबै भूमिहीन तथा जग्गासम्बन्धी समस्या एकैपटक समाधान गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै लामाले पटक–पटक थोरै संख्यामा पुर्जा वितरण गर्दा कतिपयमा आशंका उत्पन्न हुने र जग्गा जोतभोग गर्नेहरूबीच विश्वासको वातावरण कमजोर हुन सक्ने भएकाले सबैलाई प्रमाणपुर्जा उपलब्ध गराउने लक्ष्य राखिएको बताए।















Discussion about this post