उदयपुर : उदयपुरमा जल पर्यटन प्रवर्द्धन तथा साहसिक खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ।
शुक्रबार गाईघाटमा आयोजित भेलाले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा भूपालराज राउत, सचिवमा सञ्जीव राजभण्डारी, सहसचिवमा भानुनारायण श्रेष्ठ र कोषाध्यक्षमा तुलसा मिश्र चयन भएका छन्। सदस्यहरूमा नवराज राई, भीमबहादुर मगर, नारायणबहादुर राई, दिलीप साह, सुरेश चौधरी, सागर मगर, शर्मिला थापा र शान्तबहादुर माझी रहेका छन्।
समिति गठन कार्यक्रममा नेपाल र्याफ्टिङ तथा क्यानोइङ महासंघ कोशी प्रदेशका सचिव सुरेश बस्नेतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिए। उनले उदयपुरमा र्याफ्टिङ र क्यानोइङजस्ता साहसिक खेल तथा जल पर्यटनको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेभिड बस्नेतलगायतले पनि नवनिर्वाचित समितिलाई शुभकामना दिँदै जिल्लाको पर्यटन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।
तदर्थ समितिको पहिलो बैठकले साहसिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना अघि सारेको छ। अध्यक्ष श्रेष्ठका अनुसार त्रियुगा नगरपालिकाले वडा नम्बर १४ र १५ हुँदै बग्ने सुनकोशी नदीको तटीय क्षेत्रका स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको आधारभूत र्याफ्टिङ तालिमका सहभागीलाई थप दक्ष बनाउन एडभान्स तालिम प्रदान गर्ने निर्णय गरिएको छ।
त्यस्तै, गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म आयोजना हुने तेस्रो प्रदेश महोत्सव–२०८३ मा र्याफ्टिङ सञ्चालन गर्ने तयारी गरिएको छ। जिल्लाका विभिन्न नदी तथा जलक्षेत्रमा र्याफ्टिङ र क्यानोइङ सञ्चालनको सम्भाव्यता अध्ययन गरी नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने निर्णयसमेत बैठकले गरेको छ।
जिल्लामा रहेका जलस्रोतको पर्यटकीय उपयोग, स्थानीयलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने र साहसिक पर्यटनमार्फत उदयपुरको पहिचान स्थापित गर्ने लक्ष्य समितिले लिएको अध्यक्ष श्रेष्ठले बताए।
















Discussion about this post