कोरोना भाइरस संक्रमणका कारण मोरङमा आजै चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र एक वृद्धा महिला छन् ।
मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्तपालमा दुई, विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक र म्याक्स अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षणमा मोरङको केराबारीका पुरुष र सुनसरीको धरानकी वृद्धा महिलाको ज्यान गएको छ ।
अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरुषको आइतबार बिहान १०ः३० बजे मृत्यु भएको छ । कोरोना संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कात्तिक ११ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको देवले बताए । देवका अनुसार मृतकमा निमोनिया, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।
त्यस्तै धरान उपमहानगरपालिका–१ की ७२ वर्षीया वृद्धा महिलाको बिहान ८ः३० बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १४ गते वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए । उनका अनुसार मृतकमा निमोनियासँगै फोक्सो, मृगौला र मुटुको पुरानै समस्या थियो ।
विराटनगरको म्याक्स अस्पतालमा झापाको दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको दिउँसो १ः३० बजे मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना संक्रमणसँगै ज्वरो आउने र श्वासप्रश्वासको समस्या थपिएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–९ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहान ९ बजे उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि वृद्धलाई कात्तिक २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
मृतकमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको दाहालले बताए ।














Discussion about this post