छोटुलाल ठाकुरको एउटै दैनिकी छ, बिहान ६ बज्नेबित्तिकै पुरानो फोनिक्स साइकल लिएर कोठाबाट निस्किने ।
अनि गल्ली–गल्ली चहारेर थोत्रो टिन, फलाम, कागज र रित्ता सिसीहरू संकलन गर्ने । ती संकलन गरेका कबाडी सामानहरू खरिद गर्न सहरमा प्रशस्तै कबाडखानाहरू छन् । जहाँ खुद्रा मूल्यमा कबाडी समानहरू बिक्री गरेर छोटुलालले आफ्नो महंगो सपना खरिद गरिरहेको छ ।
पन्ध्र वर्ष अगाडि किनेको फोनिक्स साइकलको रूपरङ्ग खुइलिसक्यो । ह्याण्डिल, क्यारियर र डण्डाहरू जीर्ण भइसक्यो । टायर र तिल्लिहरू उप्किसक्यो । तैपनि नियमित कबाडीको भारी बोकेर सडक र गल्लीहरूमा दौडिरहन्छ । जसरी घाम उदाएर नअस्ताएसम्म सपना बोकेर ठाकुर दौडिरहन्छ ।
छोटुलाल राजधानी छिरेको एक वर्षपनि भएको छैन । तर, उसलाई यहाँका गल्ली र सडकहरू वर्षौँ वर्षअघिबाट परिचित आफन्तहरू झैँ लाग्छ । इमाडोलको गाविस अफिस छेउको सरस्वती टोलमा एउटा सानो कोठा लिएर तीनजना परिवारसहित बसिरहेको ठाकुरले ग्वार्को, टीकाथली, हरिसिद्धि, हात्तीवन र सानागाउँका विभिन्न गल्लीहरू चहारिसकेको छ ।
उनकी श्रीमती गमिरादेवी ठाकुर कोठा नजिकैको गार्मेन्ट फ्याक्ट्रिमा काम गर्छिन् । जेठो छोरो सन्तोष जडिबुटी काउन्टर छेउमा सब्जी पसलमा काम गर्छ भने कान्छा छोरा सुवोध पठाओ चलाउँछन् ।
साइकलजस्तै खिइएर काम गर्दा पनि दिनको पुगनपुग हजार रुपैयाँ कमाइ हुन्छ । त्यति कमाइ सुरुमा त कोठाभाडा तिर्न र खानलाउनमै ठिक्क हुन्थ्यो । बिस्तारै श्रीमती र छोराहरूले पनि काम गर्न थाले ।
चार जनाले कमाउन थालेपछि भने उनलाई अलि सजिलो भयो । दैनिक गुजारा चलाउने खर्चबाहेक बाँकी रकम बोकेर उनी हरेक महिनाको अन्तिमतिर लक्ष्मी सनराइज बैँङ्क पुग्छन् । तर पैसा बचत गर्न होइन, घर धितो राखेर बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न ।
छोटुलालको सपना भनेकै बैङ्कको बाह्र लाख ऋण तिरेर धितो राखेको घर उकास्ने हो । र, फेरि इमाडोल सरस्वती टोलको डेरा छाडेर आफ्नै गाउँ रौतहट फर्किने उनको सपना छ ।
उसो त एक दशकअघि उनको सपना अर्कै थियो ।
……
उनलाई पढ्न, लेख्न उति मुस्किल भएन । सिकर्मी बाप र किसान मा’ले दस कक्षासम्म कुनै कठिनाइबिनै पढाए । उनले ०४४ सालमा एसएलसी पास गरे । त्यतिबेलाको समयमा एसएलसी पास गर्नु चानचुने कुरै थिएन ।
एसएलसी गरेपछि प्रायः मान्छेहरू जागिरतिर फड्को मार्थे । उनको गाउँकै एकजना दाइ म्याग्दीमा शिक्षण गर्दारहेछन् । एकदिन त्यो दाइले छोटुलाललाई पनि आफूले शिक्षण गरिरहेकै ठाउँमा जागिर लगाइदिने कुरा गरे ।
जागिरको कुरा सुनेर छोटुलाल मख्ख भए । र, ती व्यक्तिको पछि लागेर म्याग्दीको बीमा गाविसस्थित नौमाने प्राथमिक विद्मालयमा पुगे ।
नौमाने स्कुलमा पढाउँदापढाउँदै उनलाई नजिकै मराङ गाविसको राम्ची प्राविबाट प्रधानाध्यापकको लागि प्रस्ताव आयो । शिक्षक भएर काम गरिरहेको उनले प्रधानाध्यापकको प्रस्ताव स्वीकार गरे । र, सुरु भयो उनको नयाँ जागिर।
अनुदान कोटाको जागिर ठीकै थियो । त्यहीमाथि प्रधानध्यापकको काम, खासै पढाउन पर्थेन ।
‘जागिर खाएको अर्को वर्षमा विवाह गरेँ । जग्गा आफ्नै थियो, पाँच वर्षपछि तीनतले घर पनि बनाएँ । तर सन्तानको लागि भने १२ वर्ष कुर्नपर्यो । त्यसपछि मात्रै पहिलो छोरा जन्मियो, सन्तोष । सन्तोष जन्मिएपछि जिन्दगी सन्तोषजनक नै बितिरहेको थियो,’ उनले भने, ‘त्यसको दुई वर्षपछि कान्छो छोरा पनि जन्मियो, सुवोध ।’
छोराहरू हुर्किँदै गए । उनले सन्तोषलाई इञ्जिनियर बनाउने सपना देखे । कक्षा आठसम्म गाउँकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुलमा पढाएर नौ र दस पढाउन ललितपुरको च्यासलस्थित एउटा सरकारी स्कुलमा भर्ना गरे । उनको इच्छाअनुसार नै सन्तोषले राम्रै अंक प्राप्त गरी एसएलसी उत्तीर्ण गरे ।
त्यसपछि मेकानिकल इन्जिनियरिङ अध्ययनका लागि उनले इञ्जिनियरिङ पढिरहेको गाउँकै एकजना साथीसँग सल्लाह गरे । भारतस्थित उत्तराखण्डको रुर्किमा मेकानिकल इञ्जिनियरिङ पढ्न पाँच लाखमै इञ्जिनियरिङ कोर्ष पूरा हुने रहेछ । छोरालाई इञ्जिनियर बनाउने सपना देखेको छोटुलाल ऋणपान गरेर पढाउन पठाए ।
छोरालाई रुर्कि पठाएको अर्को साल उनले ३० वर्षको अध्यापन सेवापछि दस लाखसहित गोल्डेन हेनसेक पाए । जागिरबाट अवकास पाएर उनस् म्याग्दीबाट रौतहट फर्किए । र, गोल्डेन हेनसेकबाट पाएको पैसाले एउटा सानो किराना पसल खोले । त्यतिञ्जेलसम्म दिनहरू राम्रैसँग बितिरहेको थियो ।
छोरा इन्जिनियर भएर फर्किन्छ, छोटुलालले दिनरात यही सपना देख्थे । खेतमा लहलह झुलिरहेको धानको बालाहरूजस्तै उनका सपना पनि लहलहाइरहेको थियो । उता इन्जिनियर पढ्न गएको सन्तोष भने साथीहरूको संगतले नसामा डुब्न थाले ।
छोरालाई पढाइमा बाधा नपुगोस् भनेर छोटुलालले दिनरात मिहेनत गरेर महिनौँपिच्छे खर्च हाल्दिन्थे । तर पढ्न छोडेर उता सन्तोषले भने बालुवामा पानी खन्याएजस्तै लागूऔषधमा पैसा उडाउन थाले ।
विस्तारै सन्तोष नसाको अम्मली बने । खान, बस्न र पढ्नको लागि भनेर घरबाट आएको खर्चले उनलाई पुग्न छाड्यो । त्यसपछि बापलाई रोज रोज पैसा माग्न थाल्यो । बिचरालाई खर्च अपुग भयो भनेर तीन चार महिना त बापले पनि भन्नबित्तिकै पैसा पठाउन थाले । तर बिस्तारै खर्च जुगाड गर्न गाह्रो भयो ।
‘किराना पसलबाट कति नै आम्दानी हुन्थ्यो र ? फेरि घरमा खर्च पनि हुन्थ्यो । छोरालाई फोन गर्दाखेरि सन्तोष नसामा फसेको थाहा पाएँ,’ छोटुलाल भन्छन्, ‘छोराको खबर थाहा पाउँदा छाँगाबाट खसेझैँ भयो । पढ्न पठाएको छोरा नसामा फसेको सुन्दा कुन चैँ बाउको मन रुँदैन ?’
आफूले देखेको सपना छोराले चकनाचुर बनाएको सम्झिँदा उनको मन पनि छिया छिया भयो । आँसुको सागरमा पीडा धोइवरी छोटुलाले आफुलाई दह्रो बनाउने प्रयास गरे । र, सन्तोषलाई सम्झाईबुझाई गरी खर्च नपठाइदिने अड्डी कस्यो ।
तर एउटा बाउको मन न हो, कहाँ निर्दयी बन्न सक्थ्यो र ? छोराले रोइकराइ खर्च मागेपछि उसले मनमा मायाँ टुसाइहाल्थ्यो । फेरि नसाको तालमा बहुलठ्ठिएको छोराले सडकमा भिख माग्न पनि के बेर ? सोचेर उ डरायो पनि ।
किराना पसल बेचेको केही महिनापछि उनले पाँच लाखमा एउटा खेत बेचे । त्यो पैसा पनि घर व्यवहार र सन्तोषको लागि नै खर्च भयो । पसल र खेत बेचेपछि उनीहरूलाई हातमुख जोर्न निक्कै धौ–धौ हुन थाल्यो । यता परिवार ऋणमा डुब्न थाले, उता छोरो नसामा । जति गर्दापनि उनिहरुले छोरालाई नसाबाट मुक्त गराउन सकेनन् ।
तीन वर्षपछि सन्तोष घर फर्किए । रुर्कि जाँदा उनी जस्तो हुलियामा थिए, फर्किँदा विलकुल फरक । खाइलाग्दो शरीर दुब्लाएर सिन्काझै थियो । अनुहारको रुपरंग फेरिएको थियो । पुस्तक बोक्ने झोलाभरि गाँजाको धुलोहरू थियो ।
कलम बोक्ने गोजीभरि सिगरेटका प्याकेटहरू थियो । इञ्जिनियर बनेर आउला भनेको छोरा नसामा लठ्ठ भएर फर्किएको देखेर छोटुलाल गमिरादेवीको काँध हालेर ग्वाँर्ग्वाँर्ती रोए ।
घर आएपछि छोरालाई सुधार्न छोटुलालले सुधार केन्द्र कुदाए । योग र ध्यान शिविरतिर पठाए । तर सन्तोषले नसा छोड्न सकेनन् । बरु गाउँकै अन्य केटाहरूसँग मिलेर झन् लतमा फस्दै गए ।
खुसीसाथ बितिरहेको छोटुलालको दिनहरू एकाएक नराम्रो तरिकाले गुज्रिन थाल्यो । आर्थिक रूपमा त विपत आइलागिरहेकै थियो । सामाजिक रूपमा पनि उनको इज्जतमाथि धब्बा लाग्न थाल्यो । हेडमास्टरको छोरा गजेडी भयो भनेर गाउँलेहरूले कुरा काट्न थाले । उनलाई जिउँदै मरेतुल्य भयो ।
एकपटक बाप र मा’को उदासिनता देखेर सन्तोषले सुध्रिने विश्वास दिलाए । अनि भारत काम गर्न जान्छु भनी बापसंग २५ हजार मागे ।
उनले सुनाए, ‘छोराको मति फिर्यो भनि खुसी हुँदै पुनः ऋण गरेर मागेजति पैसा दिएँ, तर त्यो इन्डिया जान छाडेर फेरि नसामै खर्च गर्यो । छोराको हालत देखेर नौनाडी गल्यो ।’
एकदिन नसामा लठ्ठ भएर बजारमा बसिरहँदा प्रहरीहरूले सन्तोषसहित उनका साथीहरूलाई पक्राउ गरे । छोरालाई प्रहरीले पक्रिएको खबर सुन्नबित्तिकै आत्तिँदै छोटुलाल र गमिरादेवी चौकी पुगे ।
छोराको तर्फबाट माफी माग्दै उनीहरूले अनुनय, विनय गरे । तर असइले उनीहरूको विन्ति सुनेनन् । बरू केही दिन हिरासतमा राखेर धरौटीमा छुटाउने कुरा गरे ।
आज छुट्ला, भोलि छुट्ला भन्दाभन्दै सन्तोष ७१ दिनसम्म जेलमा बस्यो । अन्ततः लाचार भएर छोटुलालले आफुले ३० वर्ष जागिर गरेर निर्माण गरेको घर लक्ष्मी सनराइज बैङ्कमा धितो राख्न बाध्य भए । अनि दुई लाख तिरेर छोरालाई धरौटीमा छुटाए ।
घर बैङ्कमा धितो राखेपछि उनीहरू सुकुम्बासी झैँ भए । आँसुले टिलपिल भएका मा, बाप र भैया अनि धितो राखेको घरखेत सम्झेर सन्तोषले पहिलोपटक आफूले गरेको गल्तीको पश्चाताप गरे ।
त्यो दिन उसको अंगअंगमा चढेको नसा आँसुको अविश्रान्त धारा भएर बगे । सुकुम्बासीझैँ भएपपनि छोराको मति फिरेको खुसीले छोटुलालमा फेरि उठ्ने आत्मविश्वास भरियो ।
ऋण र लज्जाले गाउँमा बस्ने स्थिति भएन । साहुहरूले निद हराम गरिरहन्थे । केही दिनपछि कमाइ गर्ने आशले श्रीमती र छोराहरूसहित लत्ताकपडा, भाँडाकुँडा र केही खर्च लिएर छोटुलाल राजधानी पसे । त्यतिबेला उनको साथमा परिवारसहित त्यही पुरानो फोनिक्स साइकलमात्रै थियो ।
भन्न मात्रै सपनाको सहर काठमाडौँ हो । यहाँको दुःखको फेहरिस्त भनिसाध्य छैन । काठमाडौँ आएर उनीहरू इमाडोलको सरस्वती टोलमा डेरा लिएर बसे । गाउँबाट ल्याएको अलिकति अन्नपात खान बस्नमै ठिक्क भयो ।
एक, दुई हप्ता काम खोज्न भौतारिएपछि उनले इमाडोलकै सतिस श्रेष्ठको किराना पसलमा काम पाए, महिनाको पन्ध्र हजार तलबमा ।
तर त्यहाँ तीन, चार महिनाभन्दा धेरै काम भएन । काम टुट्दाखेरि उनको मन पनि टुट्यो । एकदिन कबाडमै काम गर्ने साथीले उसलाई आफूसँगै काम गर्न सुझाए । साथमा फोनिक्स साइकल छँदै थियो । उनलाई साथीको कुरा ठिकै लाग्यो । र सुरु भयो उसको नयाँ पेसा, कबाडी संकलन गर्ने ।
…..
चोक र गल्लीहरूमा दगुर्दै गर्दा अहिले पनि लक्ष्मी सनराइज बैङ्कको कार्यालय देखे भने छोटुलाललाई ऐँठन लागेजस्तै हुन्छ ।
बाटो वरपर उभिएका भवनहरू देख्दा उनलाई आफ्नो तीनतले घरको सम्झनाले लखेट्छ । कतै कबाडी सामानहरू भेलाउँदा, भेलाउँदै गल्लीहरूमै प्राण जाने त हैन ? सम्झिएर उनी आत्तिन्छन् । हे भोलेनाथ ! सकुसल रौतहट नफर्किएसम्म मलाई केही पनि नहोस् । उनी गल्लीको हरेक मन्दिरहरूमा भगवान पुकार्छन् ।
उमेरको पचपन्न टेक्दै गरेको छोटुलालको आयु साइकलको पाङ्ग्राहरूजस्तै फनफनी घुमिरहेको छ । कपाल तिलचामले भएर फुल्दैछ । शरीर विस्तारै गल्दैछ । अनुहारमा चाउरी पर्दैछ । तर अझै पनि मन भने गलेको छैन । आँट र विश्वास ढलेको छैन । थोत्रो टिन, फलाम र खाली सिसिहरू संकलन गर्दै उनले हरेक दिन चोइटिएको सपनाहरू पनि जोडजाड गर्दैछन् ।
‘चारजनको कमाइले किस्ता तिर्न पुगिराछ हजुर । अब चाँडै बैङ्कको ऋण तिरेर घर उकास्छु,’ निदारबाट तुरुरु चुहिरहेको पसिना पुछ्दै छोटुलाल भन्छन्, ‘पहिलेको शिक्षक मान्छे कबाडी गरिराछु । नसिबमा यस्तै लेखेपछि दुःख नगरि सुख छैन हजुर । तर काम भनेको ठूलो सानो केही पनि हुँदैन । बात कसले कति मिहेनत गर्छ भन्ने हो ।’
छोटुलाललाई जिन्दगीले धेरै पाठ सिकाएको छ ।
नसामा फसेको सन्तोष फेरि फर्किएर आउनु नै उनको लागि खुशीको कुरा हो । छोराहरूको लागि जति मिहेनत गर्न परेपनि गर्न तयार हुने उनको आत्मविश्वासले एउटा सच्चा बाबुको त्याग र संघर्ष नियाल्न सघाउँछ ।
चाँडो ऋण तिर्नकै लागि उनले दुवैजना छोराहरूलाई विदेश पठाउने तयारी गरिरहेका छन् ।
पहिले ऋण चुक्ता गर्न पाए बातमा इञ्जिनियर बनाउने कुरा त छँदैछ । बरू कान्छा छोरा सुवोधले भने दाजुजस्तै गलत बाटोमा नलागोस् भन्ने उनको कामना छ ।
……














Discussion about this post