इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले दिएको गम्भीर अभिव्यक्तिको भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियोमा सबै आफ्ना मान्छे राख्ने भनेको भिडियो भाइरल भएको छ । भिडियोमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँलाई आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको सुनिन्छ ।
उपमेयर गौतमले भनेकी छिन् – ‘पुराना कार्यालय सहयोगी निकाल्ने र सेटिङमा सबै नयाँ मान्छे राख्ने तयारी थियो ।’
उनले दुःख गरेका पुराना कर्मचारीको पक्षमा हाकिमसँग कुरा गरेको र अन्य सबै आफ्नो मान्छे सेटिङमा हाल्ने तयारी भएको बताएको स्क्रिन सर्ट समेत टाकुरान्यूजसँग सुरक्षित रहेको छ ।
उपमेयर गौतमकै कारण केही समय अगाडि इटहरी उपमहानगरपालिकामा कार्यरत बरिष्ठ इन्जिनियर अर्जुन दाहाल सँगै अन्य केही कर्मचारीले समेत राजीनामा दिएका थिए । अन्य करारमा रहेका कर्मचारीहरुलाई पनि भ्रष्ट्राचारको आरोपमा निकाल्दै आफ्नो मान्छे नियुक्त गर्ने गरेको पोल समेत यसअगाडि खुलेको थियो ।
उपमेयर गौतमले भनेको मान्छे नियुक्त नगर्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँको करीब दुई महिनामै सरुवा भएको थियो ।
‘….मेरो कुरा त्यो हो, ती मान्छे परेनन् भने … कसरी नियुक्त हुन्छ पर्नुपर्यो, अब परेनन् भने मैले पनि के गर्नुपर्छ ।’ उपमेयर गौतमले धम्कीको शैलीमा भनेकी छिन् ।
जवाफमा प्रमुख प्रशासकीय अधिकृत चापागाईँले भनेका छन् – ‘त्यो त कानुन सम्बत हुन्छ नि हजुर, हामीले पनि गर्ने होईन ।’
त्यति भनिसकेपछि प्रमुख प्रशासकीय अधिकृतको कुरै नसुनी गौतम कार्यकक्षबाट बाहिर निस्कन्छिन् ।
गौतमले यसअघि पनि आँफूलाई कर्मचारीले नटेर्ने, नपत्याउने गरेको मिडियामा खुलेरै गुनासो गर्दै आएकी थिईन् ।
यहाँ प्रमुख प्रशासकीय अधिकृतले कानुन सम्बत हुने कुरा व्यक्तिगत कारणले कर्मचारी नियुक्त गर्न नमिल्ने कुरा बताउँदा उपमेयरले धम्कीको शैलीमा बोलेकी थिईन् ।
रातारात अन्तर्वार्ताको समय तालिका परिवर्तन
इटहरी उपमहानगरपालिकाले ०७६।०६।०१ गते एक राष्ट्रिय पत्रिकामा प्रकाशित विज्ञापन नं. १०।०७६।०७७ पद कार्यालय सहयोगी र विज्ञापन नं. ५।०७६।०७७ सहायक कम्प्युटर पदको लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशन गरेको थियो ।
०७६ चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म अन्तर्वार्ताको परीक्षा मिति तोकेको भएपनि चैत्र ६ गते एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण उल्लेखित पदको लागि समय तालिका परिवर्तन गरी अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय भएबमोजिम जानकारीका लागि भन्दै सूचना प्रकाशित गरिएको थियो ।
०७६।१२।०६ गते चलानी नं. ३३१४ मा सहायक कम्प्युटर र कार्यालय सहयोगी पदको लागि अन्तर्वार्ता परीक्षाको समय तालिका परिवर्तन गरिएको सम्बन्धमा भनेर उपमहानगरपालिकाले सूचना जारी गरेको थियो ।
त्यो समयमा प्रमुख प्रशासकीय अधिकृत चापागाईँ नै रहेका थिए । त्यतिबेला सेटिङमा कर्मचारी नियुक्ती गर्न नपाएपछि झण्डै एक बर्ष अगाडि प्रकाशित भएको विज्ञापनका लागि आवश्यक कर्मचारी अहिलेसम्म नियुक्त भएका छैनन् ।
१८ जना कर्मचारी राख्ने तयारी भएपनि अहिलेसम्म कुनै पनि कर्मचारी नियुक्त भएका छैनन् ।
सूचनामा दुईजना कम्प्युटर अपरेटर र बाँकी १६ जनालाई कार्यालय सहयोगी राख्ने तयारी भएको जनाईएको छ ।
स्रोतका अनुसार अन्तर्वार्तामा बोलाईएका १६ जना कार्यालय सहयोगीले भने लिखित परीक्षा नै नदिएको समेत खुलेको छ ।
करारमा रहेका अन्य कर्मचारीलाई भने निकालेर सेटिङमा अरु कर्मचारी नियुक्ती गर्ने तयारी गरिएको भएपनि उपमेयर गौतमको त्यो योजना सफल हुन सकेको छैन ।
यो सूचना प्रकाशित भएपछि इटहरीमा तीनजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
यस बिषयमा उपमेयर गौतमलाई टाकुरान्यूजले फोन सम्पर्क गरी बुझ्दा त्यो बिषय केही पनि नभएको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘त्यो केही होइन, चार पाँच महिना अगाडिको कुरा हो । मैले पुराना मान्छे निकाल्न पाउनुहुन्न भनेकी हुँ ।’
उनले काम गरिराखेका कर्मचारी निकाल्न नपाईने हाकिमलाई बताएपनि हाकिमले नै उल्टै सेटिङमा कर्मचारी फेरबदल गर्न लागेको आरोप लगाईन् ।
‘केही कर्मचारी चिटिङ गर्न लागेका रहेछन्, मैले खुल्ला प्रतिष्पर्धाबाट आउनुपर्छ भनेकी हुँ,’ उनले भनिन्, ‘पुराना मान्छे निकाल्न पाउनुहुन्न भनेर हाकिमलाई भनेकी हुँ, त्यो भिडियो इडिट गरेर बनाएका रहेछन् ।’
यो सुन्नुहोस् ।
(टाकुरा न्यूजसँग उपमेयरले दिएको गम्भीर अभिव्यक्ति : सेटिङमा सबै नयाँ मान्छे राख्ने तयारी थियो । सुरक्षित रहेको छ ।)
Discussion about this post