इटहरी : : अहिले सामाजिक सञ्जाल शक्तिशाली बनेको छ । सामाजिक सञ्जालमा राख्ने गरेको पोष्ट र कमेन्ट लगायतका विषयबाट नै मानिसको बौद्धिकता र शैक्षिक स्तर थाहा पाउन मात्र होईन, यसैबाट आम मानिसलाई क्षणिक चर्चामा ल्याउनेदेखि विवादमा समेत तान्न सक्छ ।
पछिल्लो केही बर्षयता सामाजिक सञ्जालको ग्राफ बढेकै कारण धेरैजसो मानिसहरु सेलिब्रेटी भएका छन् भने केही मानिसहरु पतन उन्मुख समेत भएका छन् ।
यसै सन्र्दभमा केही दिन अगाडि इटहरीका अग्रज पत्रकार सचिन पोखरेलले फेसबुकमा एउटा तस्विर पोष्ट गर्दै स्टाटस लेखे ।
एक महिलाले प्ले कार्ड बोकेको तस्वीरमा लेखिएको थियो – ‘माफ गर्नुहोला, तपाईँले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टाचारमा व्यस्त छ ।’
उक्त फोटोको क्याप्सनमा पोखरेलले दिनानुदिन कोरोना संक्रमितको संख्या उच्च हुँदै गएको र अस्पतालमा बेड अभावका कारण समस्या रहेको उल्लेख गरेका छन् । ‘कोरोना संक्रमितको लागि आइसियू र भेन्टिलेटरको कुरा त परै जाओस्, धरान विराटनगर कोभिड अस्पतालमा बेड पाउन पनि महाभारत भईसकेको छ । संघीय, प्रदेश र स्थानीय सरोकारवाला निकायहरु बीच समन्वय लगभग शून्य छ,’ स्टाटसमा भनिएको छ ।
सोही स्टाटसमा कमेन्ट गर्दै इटहरीका गोबिन्द थापाले सरकार जनताप्रति उत्तरदायी नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘खै सरकार ज्यूँदो छ कि मूदा ? जनताप्रति उत्तरदायी नभएको सरकार । नेताहरुले विदेशमा राम्रो उपचार पाइहाल्छन्, जनताको के मतलब भयो र ?’
उनको कमेन्टको रिप्लाई दिदैँ उपमेयर लक्ष्मी गौतमले गौतमले लेखेकी छिन् – ‘कता सरकारको कुरा भाइ ८० प्रतिसत स्वास्थ्यकर्मी संक्रमित भएका छन् । १० प्रतिसत नागरिक एकैपटक बिरामी हुँदा हस्पिटलले धान्छ ? अहिले ३० प्रतिसत छ कहाँ बाट धान्नु ? अब झन् स्थित कोलाहल बन्दैछ !’

उपमेयर गौतमको सोही कमेन्टले अहिले सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।
इटहरीका निराजन खड्का लेख्छन्, ‘इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले फेसबुकमा आफ्नो कमेन्टमार्फत बेतुक तर्क प्रस्तुत गर्नुभएको छ । उहाँले कोरोनाले स्थिति भयावह बनेर नियन्त्रण हुन नसकिरहेको अबस्थालाई चित्रण गर्दै ८० प्रतिसत स्वास्थ्यकर्मी संक्रमित भएको हाँस्यास्पद तर्क बताउनुभयो ।’
खडकाले इटहरी क्षेत्रमा रहेका स्वास्थ्य अवस्थाको बारेमा उपप्रमुख गौतमलाइ प्रश्न गर्दै भनेका छन् – ‘इटहरी उपमहानगरपालिका क्षेत्रमा स्थायी दरबन्दीका ४४ जना स्वास्थ्यकर्मी छन्, करिब ४० जना करारमा छन् भने रंगशालामा सञ्चालन भइरहेको आइसोलेसनमा करिब १० जना स्वास्थ्यकर्मीहरू छन् । यो तथ्यांक हेर्दा इटहरी क्षेत्रमा करिब ९४ जना स्वास्थ्यकर्मीहरू परिचालित छन् । यी मध्ये इटहरी अस्पतालका ३ जना, खनार र पकलीका २–२ जना गरि अहिलेसम्म ७ जना स्वास्थ्यकर्मी संक्रमित भएको देखिन्छ ।’
खड्काले लामो कमेन्टमार्फत इटहरीमा आधा दर्जन स्वास्थ्यकर्मी कोरोना संक्रमित हुँदा ८० प्रतिसत भन्नु बेतुकको तर्क रहेको बताए ।
त्यसो त यसअघि इटहरी उपमहानगरपालिकाले तयार पारेको प्रोफाइलमा इटहरी उपमहानगरपालिका क्षेत्रमा कुल १ लाख ५७ हजार ४ सय ५७ जना मानिसहरु रहेको जनाएको थियो । ती मध्ये ८० प्रतिसत स्वास्थ्यकर्मी संक्रमित भएको भनेर प्रस्तुत गरेकी उपमेयर गौतमको बौद्धिकतामाथि प्रश्न चिह्न खडा भएको खड्काको तर्क छ ।
खडकाले अगाडि लेखेका छन् – ‘अझै उहाँले त १० प्रतिसत नागरिक एकै पटक बिरामी हुँदा अस्पतालले नधानेको अर्काे कुतर्क पेश गर्नु भएको छ । इटहरी उपमहानगरपालिकाले तयार पारेको नगर प्रोफाइलका अनुसार इटहरीको कुल जनसंख्या १,५७,४५७ रहेको छ, यो जनसंख्याको आधारमा के उपप्रमुखले भने झै १० प्रतिसत नागरिक, अर्थात करिब १५,७५० जना संक्रमित भएर अस्पताल गएका हुन र ? सस्तो लोकप्रियताको लागि हचुवाको भरमा तर्क अनि तथ्यांक प्रस्तुत गर्ने उपप्रमुख गौतमको बौद्धिकता कस्तो ?’
उनले उपमेयर गौतमको प्रस्तुतिमाथि नै प्रश्नचिह्न खडा भएको बताए ।
इटहरीका सञ्चारकर्मी चेतन धमलाले पनि कमेन्टमा लेखेका छन् – ‘सूचना टाँसेर घर बस्न, फेसबुकमा स्टाटस हान्न त सबैलाई मन होला नि । सूचना टाँसेर घर बस्दा तलब भत्ता नआउने, भाडा तिर्नुपर्ने, स्टाफको स्यालरी दिनुपर्ने, बैँक किस्ता तिर्नुपर्ने भएर नै महामारीमा काममा निस्केका होलान् । दैनिक ज्याला मजदूरी गर्नेलाई राहत र उद्यमीलाई सहुलियत दिने लोक कल्याणकारी सरकार भएको भए यो दिन आउने थिएन कि ?’
फेसबुकमा राखिएको सोही फोटोको कमेन्टमा उपप्रमुख गौतमले अर्को पनि कमेन्ट लेखेकी छिन् – ‘बजार भीडभाडले खोल्नुपर्छ सब ठीक हुन्छ ।’
उक्त कमेन्टको जवाफमा उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल लेख्छन् – ‘बजारलाई किन देख्न नसकेको हौ ? लकडाउनको समयमा त्यही बजार तीन घण्टा भएपनि खोलिदिनुपर्यो भनेर भन्ने, त्यो समयमा आफ्नो ज्यान दाउमा राखेर सेवा दिने तिनै ब्यापारी होइनन् ? अलिकति ब्यवसायहरू प्रति पनि सम्मान गर्नुपर्यो । म यहाँ कसैलाई दोष लगाउँदिन, पूर्ण रुपमा सवारी साधनहरू चले भीड भयो । व्यापारीले त कोभिड १९ को मर्यादा पालन गरेकै छन् । त्यस्तो छैन भने कारवाही गर्नुहोस्।’

अघिल्लो साता मात्रै उपमेयर गौतमले इटहरीमा कोरोना संक्रमण फैलनुमा सुनसरीका सिडिओ र उद्योग बाणिज्य संघको दोष रहेको हास्यास्पद र विवादास्पद अभिव्यक्ति दिएकी थिईन् ।
उनी बेला–बेलामा यीनै विभिन्न कारणले गर्दा विवादमा आउने गरेकी छिन् ।
उपमेयर गौतमको पछिल्ला केही गतिविधिबारे नगरबासीले असन्तुष्ट प्रकट गर्दै आएका छन् । यस बाहेक उनले सामाजिक सञ्जालमा राख्ने पोष्ट र कमेन्टहरुमा पनि व्यापक रुपमा अशुद्धता हुने गरेको छ ।
यसबाट पनि उपप्रमुख गौतमको बौद्धिक र शैक्षिक क्षमतामाथि व्यापक प्रश्न उठको छ ।













Discussion about this post