इटहरी : सुनसरी जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएपनि साक्षरता भन्ने शब्द, शब्दमा मात्रै उल्लेख भएको पाईएको छ ।
०७४ फागुनमा सुनसरीलाई नेपालको ४५ औँ साक्षर जिल्लाको रुपमा घोषणा गरिएको भएपनि अहिले यहाँका एकै गाउँका पचास जना भन्दा बढी बालबालिका विद्यालय नै नजाने गरेको पाईएको हो । रामधुनी नगरपालिका ६ सरोनास्थित एकै गाउँका पचास जना बढी बालबालिका विद्यालय नै नजाने गरेको बताउँछन् ।
पञ्चायत आधारभूत विद्यालय रामधुनी ६ का प्रधानाध्यापक अनन्तराम चौधरीले विद्यालयमा दुई सय ५ जना विद्यार्थी रहेको भएपनि सो गाउँका बालबालिकाहरु विद्यालय नआउने बताए ।
‘मुसहर, राजधामी, ऋषिदेव, थारु बस्तीका बालबालिका विद्यालय आउँदैनन्,’ उनले भने, ‘सामुदायिक विद्यालयमा गाडीको व्यवस्था नहुँदा पनि समस्या रहेको छ ।’ उनका अनुसार विद्यालयमा नौ जना शिक्षक छन् । ८ जनाको दरबन्दी छ भने एकजना निजी स्रोतबाट चल्दै आएको छ ।
उनी आँफूहरुकहाँ शिक्षाको गुणस्तर अब्बल रहेको बताउँछन् । तर, एकै गाउँका पचास जना भन्दा बढी विद्यार्थी पढ्न नआउँदा आँफूहरु चिन्तित रहेको उनले बताए ।
८ कक्षासम्म अध्यापन हुँदै आएको विद्यालयमा मुसहर बस्तीका बालबालिका अध्यापन गर्न नआउने उनको भनाई थियो ।
‘विद्यालयले कक्षा १ देखि पाँच सम्म खाजाको व्यवस्था समेत गरेको छ,’ उनले भने, ‘बालबालिका विद्यालय आउन् भन्नका लागि निःशुल्क रुपमा पोसाक, कापी, किताब जस्ता शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेपनि विद्यार्थी पढ्न नै आउँदैनन् ।’
स्थानीय सोमनाथ मलिकले विद्यालयका शिक्षकले वास्तै नगर्ने बताए । उनले भने, ‘मेरा दुईजना छोराछोरी छन्, रोजगारीको अवस्था नहुँदा पनि समस्या एकातिर छ, अर्कोतिर स्कूलका सरहरुले पनि वास्ता गर्दैनन् ।’
उनले आँफूहरुमा चरम गरिबी रहेकाले दुई छाक जुटाउनै मुश्किल हुने भएको बताए । ‘घरको अवस्था नाजुक छ, रोजगारीको अवसर कहीँ, कतै छैन,’ मलिकको गुनासो थियो, ‘हामीले स्कूलमै सफाई गर्ने काम पाए छोराछोरी पनि त्यहीँ पढाउँथ्यौँ, काम पनि त्यहीँ गथ्र्यौँ ।’
स्थानीय बुद्धनारायण सदाले भने सानै उमेरमा बालबालिकाले बुवा, आमाको सीप सिक्ने र काममा जाने बताउँछन् । ‘हाम्रो समुदायमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छौँ,’ उनले टाकुरासँग भने, ‘नानीहरु घाँसदाउराका लागि जंगल जाने, खेतीपातीमा सघाउने गरेका छन् ।’ धेरै जसो बालबालिका विद्यालय नजाने, गएपनि भागेर आउने र खेतीपातीमा जाने उनको भनाई थियो ।
यी माथि उदृत गरिएका दुईजना पात्र प्रतिनिधि मात्र हुन् ।
उनीहरुजस्तै यहाँका दर्जनौ घरपरिवारका समस्या उही छ । अभिभावकहरुमा रोजगारीको अवसर नहुने भएकाले पनि यस क्षेत्रका बालबालिका शिक्षाबाट बञ्चित छन् ।
सुनसरीको सुगम क्षेत्रका रुपमा चिनिने रामधुनी नगरपालिकालाई चाडैं नै बालमैत्री नगरपालिकाका रुपमा घोषणा गर्ने तयारी थालिएको छ । तर, यो क्षेत्रका बालबालिकाले अहिले पनि शिक्षाको महत्व नबुझ्दा जटिल समस्या देखा पर्ने बुझिन्छ ।
स्थानीय सरकारले शिक्षाबाट बञ्चित हुन नदिनका लागि ठूलो बजेट विनियोजन गरेको भएपनि यस क्षेत्रका बालबालिका विद्यालय नै नजाने गरेकाले यसको दीर्घकालिन समाधानका निम्ति तत्काल साक्षरता अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।
Discussion about this post