मोरङ : मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङको लेटाङमा अटो ट्याम्पो र केराबारीमा साइकल दुर्घटना भएको हो ।
प्रहरीका अनुसार लेटाङ नगरपालिका ३ स्थित भित्री सडक खण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैँ अनियन्त्रित भएर शुक्रबार बिहानका राति २ बजेतिर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका ७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटना परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि लेटाङ एडभान्स हेल्थ केयर सेन्टरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहान २ः४० बजेतिर मृत्यु भएको हो ।
अटोमा सवार कानेपोखरी ७ का ३१ वर्षीय पूर्णबहादुर तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । तामाङलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार अटोको तीव्र गतिका कारण दुर्घटना भएको पाइएको छ । त्यस्तै, केराबारी गाउँपालिका ७ मा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
केराबारी ७ का १७ वर्षीय निर्मल महतोले आफ्नै घरअगाडि कुदाउँदै गर्दा अनियन्त्रित भएर बिहीबार दिउँसो साइकल लडेको थियो । प्रहरीका अनुसार अनियन्त्रित भएर लडेको साइकलको हेण्डिलले महतोको पेटमा लागेको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारकै क्रममा राति ११ः३० बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post