संखुवासभा : संखुवासभाको मादी नगरपालिका १, उम्लिङमा गत भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई कारागार चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो ।
संखुवासभा प्रहरीले करिब २० दिन अनुसन्धान गरी असोज १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत संखुवासभा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । त्यसपछि सुरु भएको थुनछेक बहस सोमबार सकिएपछि अभियुक्तमध्ये लोकबहादुर कार्की, खड्गबहादुर कार्की, हस्तबहादुर कार्की र रणबहादुर कार्कीलाई पुर्पक्षका लागि जेलमा पठाउने आदेश भएको हो ।
घटनामा संलग्न अर्का अभियुक्तको उमेर भने १७ वर्ष मात्रै भएको कारण उनलाई भने बाल सुधार गृहमै राखेर मुद्दाको पुर्पक्ष गरिने भएको छ ।
संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार अभियुक्तहरूले प्रहरी र अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो अपराध स्वीकार गरी एकै मिलानको बयान दिएका थिए । तत्काल प्राप्त प्रमाणबाट उनीहरु कसूरदार देखिएको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको डिएसपी सुवेदीले बताए ।
गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका नाति विपिन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको चिर्पट तथा चक्कु प्रहार गरी हत्या भएको थियो ।
घटनाको मुख्य योजनाकार स्थानीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
Discussion about this post