तरहरा : तरहरा क्रिकेट क्लबको आयोजनामा भएको टि-२० क्रिकेट प्रतियोगितामा आयोजकको वर्चस्व भएको छ ।
शनिबार (आज) भएको खेलमा आयोजक र नेहा-वाटर विराटनगरबीच भएको फाइनल खेलमा आयोजकले ५ विकेटले पराजित गर्दै विजेता भएको हो ।
विराटनगरले आयोजक तरहरालाई ७२ रनको लक्ष्य दिएको थियो । यसैबीच तरहराले उक्त लक्ष्यलाई ५ विकेट बाँकी रहँदै जीत हासिल गर्यो ।
तरहरा क्रिकेट क्लबका अध्यक्ष विकास गिरीका अनुसार अघिल्लो शनिबारदेखि भएको खेलमा सुनसरी र मोरङका ८ वटा टिम सहभागी थिए ।
फाइनल खेलमा सहभागी हुने टिमले यसअघि दुई -दुई वटा टिमलाई पराजित गर्दै उपाधिका लागि मैदानमा उत्रिएका थिए ।
बिजेता टिम आयोजकले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता विराटनगरले १५ हजारमा चित्त बुझायो ।
खेलमा तरहराका सोनु मण्डल म्यान अफ द म्याच घोषित भए ।प्रदीप निरौला इमर्जिङ्ग प्लेयर र पवन प्रधान राइजिङ्ग प्लेयर घोषित भए । म्यान अफ द टुर्नामेन्ट तरहराकै सुरज न्यौपाने, बेस्ट बलर विराटनगरका सुमन खतिवडा र बेस्ट ब्याट्सम्यान विराटनगरकै राहुल साह घोषित हुँदै पुरस्कृत भए ।
२०५८ सालमा स्थापना भएको क्लबले यस क्षेत्रमा खेलाडी उत्पादन गर्नेगरी खेलकुदका गतिविधि संचालन गर्दै आएको अध्यक्ष गिरीले बताए ।
उनका अनुसार हाँसपोसा खेलमैदान, सिमसार क्षेत्र संरक्षण समिति र हाँसपोसा सामुदायिक वनसँगको सहकार्यमा नेटसहितको आधुनिक अभ्यास स्थल उपलब्ध गराइनेछ । जसमा खेलप्रेमीहरूले क्रिकेट खेल्न अभ्यास गर्नेछन् ।
“तरहरा क्रिकेट क्लबको इतिहासमै पहिलोपटक अहिले प्रथम भएको हो,” उनले भने, “हामीले खेल क्षेत्रमा लाग्ने युवाहरूलाई प्रोत्साहित गर्ने उदेश्यले हरेक वर्ष खेलकुदका गतिविधि गर्दै आएका छौं ।”
Discussion about this post