इटहरी (डेस्क) : लायन्स क्लब बेलबारीको नाममा ७ बर्षअघि आएको एम्बुलेन्स क्लबकै पूर्व पदाधिकारीहरुको नेतृत्वमा बिक्री भएको खुलासा भएको छ ।
राजश्व छुटसहित बेलबारीका जनताको सुबिधाका लागि भन्दै ल्याइएको एम्बुलेन्स अचानक गायब भएपछि खोजी गर्ने क्रममा बिक्री भएको प्रमाणसहित फेला परेको छ । लायन्स क्लबले बेलबारीमा सन २०११ मा एम्बुलेन्स खरिद गरिएको र ३ वैशाख २०७० मा एक बर्ष पनि नबित्दै बिक्री गरिएको पाइएको छ ।
क्लबका पुर्व पदाधिकारीहरुकै संलग्नतामा बिक्री समिति समेत बनाएर को १ च ५७९४ नम्बरको टाटा मोटर लि. भारत टाटा सुमो २०११ सिलिण्डर संख्या ४ सि.सि १९४८ सिसि चेसिस नम्बर एम.ए.टी ३८५०५६ ए ९ पी ३७९७३ ईन्जिन नम्बर पी.जेड,५।७२३५२५ नम्बरको सेतो रङको एम्बुलेन्स तत्कालीन लेटाङ गाबिस वडा नम्बर ५ का भक्तबहादुर राईलाई ९ लाख २५ हजारमा बिक्री गरेको खुलासा भएको छ । राईले समेत सो एम्बुलेन्स बिराटनगरका एक ब्यत्तिलाई बिक्री गरिसकेको खुलेको छ ।
सामाजिक संस्थाले समुदायको हितका लागि राजश्व छुटमा खरिद गरेको एम्बुलेन्स केही ब्यत्तिहरुले निजी स्वार्थका लागि बिक्री गरेको र सांसद बिकास कोषको रकम समेत हिनामिना भएको प्रष्ट देखिन्छ ।
एम्बुलेन्स बिक्री भएपछि हरेक वर्ष लायन्सका अध्यक्ष फेरिए पनि एम्बुलेन्सको खोजी नभएको र सन् २०२० का अध्यक्ष खेमप्रसाद गौतम र सचिव तीर्थराज सिग्देल लगायतले एम्बुलेन्सको खोजी गरेपछि एम्बुलेन्स बिक्री भएको पाइएको थियो । मोरङको बेलबारीमा सन २००८ नोभेम्बर ११ मा स्थापना भएको क्लबको स्थापनापछि बेलबारीमा क्लबले बिभिन्न सामाजिक क्रियाकलाप समेत गरेको छ ।
एम्बुलेन्स कति रकममा किनिएको र कति पैसा बिक्रीपछि बाँडिएको भन्ने कहिँकतै उल्लेख छैन । बिक्री गरिएको कागज भने प्राप्त भएको छ ।
सोही कागजमा क्लबका पूर्व पदाधिकारीहरुले बिक्री गरेको सम्झौता र हस्ताक्षर रहेको छ । यसैबीच लायन्स क्लब अफ बेलबारीको ७ बर्ष अघि बिक्री भएको एम्बुलेन्स फिर्ता हुनुर्ने माग सहित क्लबका पदाधिकारीहरुले बिराटनगरमा पत्रकार सम्मेलन गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा लायन्स क्लब बेलबारीका अध्यक्ष खेमप्रसाद गौतम, सचिव तीर्थराज सिग्देल, पूर्व अध्यक्ष कमल श्रेष्ठ लगायतले पत्रकार सम्मेलन गरी बिक्री भएको एम्बुलेन्स बेलबारीमा फिर्ता गर्न माग गरेका हुन् ।
– पूर्वेली न्यूजबाट













Discussion about this post