मोरङ : मोरङको केराबारीमा मृगभन्दै भरुवा बन्दुकले हानेर साथीको हत्या गरिएको छ ।
सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर मोरङको केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार सिकार खेल्नलाई सँगै गएका साथीमध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई भनेर बन्दुक प्रहार गरे पनि त्यसको छर्राले लाग्दा हस्तको घटनास्थलमै ज्यान गएको हो ।
हस्त र गजेन्द्रसँग रातको समयमा बाँसघारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न २६ वर्षीय रुविन लिम्बू पनि गएको खुलेको डीएसपी राईले बताए । बन्दुक पड्किएर बुधबार राति ९ बजेतिर हस्तको घटनास्थलमै मृत्यु भए पनि घटनाका बारेमा प्रहरीले भोलिपल्ट (बिहीबार) विहान ९:३० बजेतिर मात्रै जानकारी पाएको थियो ।
सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफैँ इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना १२ घण्टापछि मात्रै बाहिर आएको हो ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुले त्यतिबेला हस्त आफैले बोकेको बन्दुक पड्किएर घटना भएको बताएका थिए । तर प्रहरीले घटनालाई शङ्कास्पद मानेर अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा गजेन्द्रले मृगलाई ताकेर हानेको बन्दुकको छर्राले दायाँ कुममा लागेर हस्तको मृत्यु भएको खुलेको डीएसपी राईले बताए ।













Discussion about this post