इटहरी : काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
सुनसरीमा पछिल्लो साता कोरोना संक्रमणको दर तीब्र गतिमा बृद्धि भएपछि प्रशासनले बिहीबार बैठक बसेर जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशराज ढकालका अनुसार वैशाख १७ गते शुक्रबार मध्यराति १२ बजेदेखि २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
‘कोरोनाको दर बृद्धि भएपछि बिहीबार बैठक बसेर एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘अत्यावश्यक काम नपरी घरबाहिर निस्कन नपाइने सूचना जारी गरेका छौँ, यसलाई पालना गर्न अनुरोध गरिएको छ ।’
यस्तै, एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि प्रशासनले रोक लगाएको छ । सरकारी, बैक, बित्तिय, विमा लगायत कार्यालयहरुबाट अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्न समेत अपिल गरिएको छ । यद्यपि, माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्ने जारी सूचनामा उल्लेख छ ।
यस्तै, खाद्य सामग्री तथा औषधीको हकमा भने विहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइने भएको छ ।
‘विहान ६ बजेदेखि ११ बजेसम्म अत्यावश्यक सामग्रीका लागि पसल खुल्ला गर्ने, तर भीडभाड नगर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ ।’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ ।
यस्तै, यातायात सञ्चालनको हकमा भने जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको छ । खानेपानी, एम्बुलेन्स, खाद्यान्न, तरकारी, दूध, माछामासु, बैँक, बित्तिय लगायतको सवारीसाधनहरु भने सञ्चालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।
यस्तै, १० बर्षमुनि र ६० बर्ष माथिका व्यक्ति तथा दीर्घरोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा हिँडडुल नगर्न भनिएको छ । यस्तै, विवाह, ब्रतबन्ध जस्ता आयोजनामा बढीमा २५ जना सहभागी हुनुपर्ने र सो भन्दा बढी हुन नपाइने प्रशासनले उर्दी जारी गरेको छ ।
जिल्लाको भण्टाबारी नाकाबाट भारत आवतजावतमा पूर्ण रुपमा प्रवेश निषेध गरिएको तथा आदेशको अवहेलना गरे वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन अनुसार सजाय हुने प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
निषेधाज्ञामा के खुल्ने, के नखुल्ने भन्ने विषयमा निर्णय हेर्नुहोस् ।















Discussion about this post