विराटनगर : ‘सवारी ज्यान मुद्दा’ मा पक्राउ परेका विराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन कार्की पुर्वपक्षको लागि कारागार चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको इजालशले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्। अदालतको आदेशपछि रबिन विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारि दिए ।
रबिन विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको थियो।
गत जेठ २० गते राति साढे सात बजे प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।
मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् । मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।













Discussion about this post