इटहरी : सुनसरीमा देउसी–भैलो खेल्न प्रशासनले अंकुश लगाउने संकेत दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनाअनुसार जिल्लामा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न भनिएको छ ।
कोरोना भाइरस संक्रमणको संख्या कमी भएपनि यसको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरेर राति १० बजेसम्म मात्रै देउसी, भैलो, नाचगान जस्ता कार्य गर्न अपिल गरिएको प्रजिअ यादवले बताए ।
उनका अनुसार प्रशासनले गरेको अनुरोध पालना नभए कानुन बमोजिम कारबाही गरिनेछ ।
सूचनामा पटका, अतिसवाजी, झिरझिरे, भुईचम्पाजस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्री वितरण नगर्न पनि आग्रह गरिएको छ । देउसी–भैलो कार्यक्रमहरू सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै, भीडभाडजन्य गतिविधि गरि समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापजन्य कार्य नगर्न पनि प्रशासनको आग्रह छ । धार्मिक सद्वभाव कायम गर्नका लागि एकले अर्काको धर्म, संस्कृतिलाई सम्मान गर्न आवश्यक रहेको यादवले बताए ।














Discussion about this post