मोरङ : तीन दिनदेखि हराएका मोरङको बूढीगङ्गा गाउँपालिका ५ हात्तीमुडा लिचीबगैंचा टोलका एक बालकको शव फेला परेको छ ।
१४ वर्षीय निश्चल रायको शव बुधबार बिहान घरदेखि पूर्वपट्टि करिब एक किलोमिटर टाढा रहेको सिङ्घीया खोलामा फेला परेको हो ।
उपेन्द्र रायका छोरा निश्चल राय कात्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए ।
हराएको तीन दिनपछि उनको शव चोटपटक लागेको अवस्थामा भेटिएको हो । निश्चलको घाँटीमा जुत्ताको डाम र शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको मृतकका बाबु उपेन्द्र रायले जानकारी दिए ।
छोराको सुनियोजित तरिकाले हत्या भएकोले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘छोरालाई यातना दिएर हत्या गरिएको छ ।शरीरभरि निलडाम रहेकोले पनि छोराको हत्या भएको हो’ उनले भने, ‘प्रहरी प्रशासनले सूक्ष्म रूपमा छानबिन गरी दोषीलाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउन हामीले माग गरेका छौं ।’
मृतकको शव पोष्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।














Discussion about this post