मोरङ : मोरङमा बालिकाको हत्या भएको एक सातापछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार रंगेली नगरपालिका २ नहर टोलमा २१ महिने बालिका हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रहरीले आइतबार सोही टोलका ४६ वर्षीय सैनी उराव र ३५ वर्षीया संगिता उरावलाई पक्राउ गरेको हो। गत मंसिर २८ गते चन्द्र उरावको छोरी युनिसा उरावको शव घर नजिकैको पैनीमा गाडेको अवस्थामा भेटिएको थियो।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरुलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ। घटना किन भएको भन्ने सन्दर्भमा प्रहरीले जानकारी लिने काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
प्रहरीका अनुसार चन्द्रकी छोरी युनिसा मंसिर २६ गतेबाट बेपत्ता भएकी थिइन्। छोरी बेपत्ता भएपछि बुबा चन्द्र र परिवारले निरन्तर दुई दिन खोजी गरेका थिए। खोजी गर्ने क्रममा २८ गते उनीहरुले घर नजिकको पैनीमा खाडल खनेको भेटाएका थिए।
त्यसपछि प्रहरीलाई खबर गरी खाडल खन्दा बालिकाको शव भेटिएको थियो। युनिसाको शव भेटिएको स्थान घरबाट करिब ६० मिटरको दुरीमा रहेको प्रहरीले जनाएको छ।













Discussion about this post