धनकुटा : धनकुटाको पाख्रीबास नगरपालिका ५ का आशिष मगर बेपत्ता भएको तीन वर्ष पुग्न लाग्यो । २०७५ फागुन २० गते शिवरात्रीका दिन परिवारजन कसैलाई थाहा नदिइ घरबाट हिँडेका उनी अहिलेसम्म सम्पर्क विहीन छन् ।
पीडित परिवारले सबैजसो आफन्तसँग उनका बारेमा सोधखोज गरिसकेको छ । छोरा भेटिने आशामा बुवा इन्द्रबहादुर मगर र आमा हेममाया मगरले धेरैमा ठाउँ धाइसकेका छन् । तर, अहिलेसम्म छोराको अवस्था अज्ञात हुँदा उनीहरू विचलित बनेका छन् ।
आशिषकी ४७ वर्षीया आमा हेममायाले भनिन्, ‘कहाँकहाँ मात्र खोजिएन तर केही उपाय लागेन । कसैले आशिषजस्तो मान्छे यो ठाउँमा देखिएको थियो भनेर सुनाउने बित्तिकै कुदिहाल्थें तर त्यहाँ पुगेपछि अर्कै मान्छे हुन्थ्यो ।’
छोरा आजै र अहिल्यै फर्किहाल्छ भन्ने लागिरहने गरेको उनले सुनाइन् । ‘हरेक दिन उसको बाटो हेरिरहन्छु,’ उनले भनिन्, ‘जतिखेर पनि छोराकै सम्झनाले सताइरहन्छ।’ छोरा हराएदेखि अहिलेसम्म राम्रोसँग निदाउन पनि नसकिएको उनले सुनाइन् ।
आशिषका दाजु मनोज मगरले २०७५ फागुन २३ गते इलाका प्रहरी कार्यालय पाख्रीबासमा भाइको खोजतलास गरिदिन भन्दै निवेदन दिएका थिए । तर, अहिलेसम्म प्रहरीले केही पत्ता लगाउन सकेको छैन । ‘
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बेपत्ता आशिषको खोजी कार्य जारी रहेको बताए । लामो समय भइसक्दा पनि आशिषका बारेमा कुनै संकेतसम्म नभेटिएको उनले बताए ।
‘बेपत्ता भएको यति लामो समय भइसक्यो तर कुनै ‘क्लु’ भेट्टाउन सकिएको छैन,’ डिएसपी थापाले भने, ‘मोबाइल लिएर गएका भए खोजी गर्न सजिलो हुन्थ्यो तर उनले मोबाइल घरमै छाडेका रहेछन् ।’













Discussion about this post