इटहरी (डेस्क) : मोरङको लेटाङ ५ खेरुवामा रहेको शिक्षा विकास माबिका एक शिक्षकले १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा आक्रमण हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।
आक्रोशित भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । विराटनगरको कोसी अस्पतालमा राति ११ बजे शव ल्याइएकी श्रेष्ठको घाँटीमा ठूलो प्वाल रहेको आकस्मिक कक्षका एक चिकित्सकले जानकारी दिए ।
होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षा विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन् ।
घटनाबारे शिक्षक र अभिभावक सहितको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । उनीहरूको अवस्था सामान्य छ । यस्तै, अन्य १६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि लेटाङ तनावग्रस्त बनेको छ ।












Discussion about this post