धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपमहानगरको स्कारपियो बेचेर ‘रोलर’ किन्ने प्रस्ताव गरेका छन् ।
बिहीबार कार्यपालिकाको बैठकमा मेयर साम्पाङले भने, ‘म के सोचिरहेको छु भने, यो को १ झ ६४० नम्बरको स्कारपियो बेचौँ, रोलर किनौँ ।’
उनले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलतिर हेर्दै भने, ‘३० लाखमा आउँदो रहेछ, रोलर त्यो किनौँ । हुन्छ, हुँदैन मिल्यो भने है ।’
कार्यपालिका सदस्यबाट त्यो भावना हो भन्ने उत्तर पाएपछि उनले लगत्तै जवाफ फर्काए – ‘भावना होइन, भावनाको कुरा नगर्नुहोस् ।’
उनले मेयर कोषबाट बिग्रिएका बाटो आँफै बनाउने भन्दै गाडी बेचेर रोलर किन्ने प्रस्ताव गरेका हुन् । उनले धरानमा दाँत कोट्याउने सिन्का समेत उपलब्ध नभएकाले उत्पादनमुखी क्षेत्रमा काम गर्ने समेत बताए ।
यसैबीच कार्यपालिका सदस्यहरूले बजेट पास गर्न नदिएपछि उनले आक्रोश समेत पोखेका छन् । ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखे ।
केही वडाध्यक्षहरूले प्रतिवाद गरेपछि मेयर साम्पाङले आक्रोशभावसहित भने, ‘तपाईंहरुको सुर चाहिँ के हो ? स्वतन्त्रले मेयर जित्यो यसलाई ऊ गर्नुपर्छ भनेको हो कि ? आफैंले बनाएको बजेट मैले बनाएको होइन भन्दिने ? आफ्नै छोरा आफैं मार्ने ? असारमा गर्ने बजेट साउनमा गर्ने ? तपाईँहरुले वडा चाहिँ कसरी चलाउनु हुन्छ ? तपाईंहरु पनि डोनेसन माग गरेर चलाउनु होस् । म पनि मागिरहेको छु त ।’
गत असार १० गते बजेट भाषणपछि बिहीबार कार्यपालिका बैठक बसेको थियो । बजेट पास गर्ने विषयमा दोहोर भनाभनपछि मेयर साम्पाङ आक्रोशमा आएका थिए ।
मेयर–उपमेयरको छुट्टै कोष बनाउने भन्ने विषयमा विवाद भएपनि अन्त्यमा कोषमा १ करोड ७० लाख रहने र त्यसलाई नगरसभामा पेश गर्ने सहमति भएपछि बैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।












Discussion about this post