इटहरी : प्रदेश १ को नाम किरात राख्न माग गर्दै सोमबार दबाबमूलक ¥यालीसहित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
प्रदेशको नामकरण पहिचानको आधारमा राख्नुपर्ने मागसहित सोमबार धरान, इटहरी हुँदै दर्जनौँले मुख्यमन्त्री कार्यालय विराटनगरमा धर्ना समेत दिएका थिए ।
किरात राई यायोख्या केन्द्रीय कार्यालयले ¥यालीसहित नाराबाजी गर्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएका छन् ।
यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात घोषणा गरिनुपर्ने मागसहित आफूहरूले दबाबमूलक कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले भने, ‘किरात प्रदेश नाकरण सार्थक रूपमा तत्काल टुंगो लागोस् भन्ने उदेश्यले हामीले दबाबमूलक कार्यक्रमको आयोजना गरेका हौँ ।’ र उक्त आन्दोलन पहिचानसँग जोडिएको भन्दै किरात प्रदेशको माग प्राप्त नभएसम्म आफूहरूको आन्दोलन जारी रहने उनको दाबी छ ।
प्रदेशसभामा प्रदेशको नाकरणको लागि तत्काल छलफल अगाडि बढ्नुपर्ने उनको माग छ ।
यता, मुख्यमन्त्री राजेन्द्रकुमार राईले ज्ञापनपत्र बुझ्दै किरात प्रदेशका लागि आफ्नो समर्थन रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘पहिचानको आधारमा प्रदेशको नाकरण गर्नका लागि मैले सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएको छु, किरात प्रदेशका लागि म सकारात्मक छु ।’
प्रदेश १ को नामकरणका लागि सगरमाथा, कोशी, सप्तकोशी, किरात, कोशी किरात, किरात लिम्बूवान, लिम्बूवान जस्ता नाम चर्चामा छन् । विशेषतः कांग्रेस र एमाले नाममा लगभग सहमति जस्तै रहेपनि के नाम राख्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।














Discussion about this post