झापा : झापाको दमक नगरपालिका ८ स्थितबाट अवैध कपडासहित दुईवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोलीले दमकको पशुहाट डाँडास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश १–०१–००१ ज ३४३८ नम्बर र मे १ ज २८०४ नम्बरको पिकअप गाडीमा अवैध रूपमा बोकेको विभिन्न प्रकारका कपडाहरू बरामद गरेको हो ।
बरामद गरिएको करीब २२ लाख ६ हजार मूल्य बराबरको अवैध कपडासहित दुवै सवारी साधन र चालक समेतलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
यसैगरी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका ३ राजगढ बजारको पशुहाट स्थित खाली सार्वजनिक स्थानमा भन्सार छली अवैध रूपमा चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याई राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ ।
बरामद गरेको चिनीसहित मानिसलाई आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post