इटहरी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश १ छनौटको महिला फुटबलतर्फ बिहीबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्लाले जित हासिल गरेका छन् ।
इटहरी रंगशालामा भएको प्रदेश छनौट फुटबल प्रतियोगिताको बिहीबारको पहिलो खेलमा इलामलाई १ को विरुद्ध २ गोल गर्दै सुनसरीले जित निकालेको छ ।
खेल शुरु भएको ४ मिनेटमै सुनसरीको लागि तिर्सना मगरले एक गोल गर्न सफल भएकी थिइन् भने दोस्रो हाफको २३ औँ मिनेटमा आसिका बोहराले अर्को गोल गर्दै खेललाइ अग्रता दिलाइन् ।
यस्तै, इलामको तर्फबाट दोस्रो हाफको ४ मिनेटमा जेनिफेयर रानाले १ गोल गरेकी थिइन् ।
यसअघि बुधबारको दोस्रो खेलमा मोरङ्ग जिल्लाको महिला फुटबल टिमले भोजपुरलाई ३ गोल गरेको थियो भने भोजपुरले १ गोल फर्काउन सफल भएको थियो । यता, अर्को खेलमा धनकुटाले पाँचथरलाई ५ को विरुद्ध ६ गोल हान्यो ।
खेलको निर्धारित समयसम्म एक–एक गोल गरी बराबरीमा रहेका धनकुटा र पाँचथरको खेल ट्राइबेकरमा पुगेको थियो । ८ गोलको ट्राइबेकरमा धनकुटाले ६ गोल गर्यो भने पाँचथरले ५ गोलमात्रै गर्न सफल भएको थियो ।
यस्तै, झापा र सोलुखुम्बुबीच भएको खेलमा झापाले सोलुलाई शून्यका विरुद्व ४ गोलले पराजित गरेको थियो ।














Discussion about this post