इटहरी : भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सुनसरी र झापाबाट बरामद गरिएको छ ।
तिहार, छठ लगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्र प्रहरीले बरामद गरेको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए ।
सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका १ बाट विभिन्न प्रकारका पटका बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको समेत छ ।
यस्तै, बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका १ बाट बरामद भएको प्रहरीको भनाइ छ ।
सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।
पछिल्लो समय भारत सीमानाकामा पर्ने सुनसरी, मोरङ र झापाका विभिन्न ठाउँबाट पटका भित्राउने गरेको पाइएको छ ।














Discussion about this post