ताप्लेजुङ : ताप्लेजुङमा प्रहरीले करिब १६३ तोला सुनको गरगहना फेला परेको छ ।
तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार फुङ्लिङ नगरपालिका ४ स्थित छुट्टाछुट्टै दुई स्थानबाट लुकाइराखेको अवस्थामा सुनका गहना फेला पारिएको हो ।
बजार नजिकै जङ्गलमा बट्टा र बोरामा पोको बनाएर लुकाइराखेको अवस्थामा ११७ तोला र दिउँसो ४६ तोला सुनको गहना फेला पारेको राईले जानकारी दिए ।
ट्रान्सफरका सञ्चालक अमरकुमार श्रेष्ठको जाहेरीअनुसार अब ४२ तोला मात्र सुनको गरगहना फेला पर्न बाँकी देखिन्छ ।
श्रेष्ठले ३४८ तोला सुनको गरगहना र ११ लाख ६३ हजार २५० रुपियाँ नगद लुटिएको भनी प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको थियो ।
सदरमुकाम फुङ्लिङको मुख्य बजार वीरेन्द्र चोकमा रहेको आईएमईमा गत असोज १७ गते दशैँको अष्टमीको दिन बिहानको समय करिब ९ः३० बजेतिर लुटपाट गरिएको थियो।
लुटपाटमा संलग्न रहेको आरोपमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका १ का २६ वर्षीय चुनबहादुर सुनार र अर्जुनधारा नगरपालिका १० का मणिराज पर्तेल तथा हाल पाँचथर फिदिम नगरपालिका १ बस्दै आएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ५, लिम्बुदिनका २७ वर्षीय गजेन्द्र लिम्बू पक्राउ परेका छन् ।














Discussion about this post