मोरङ : मोरङको केराबारी गाउँपालिका–५ स्थित गुम्बा टोलमा आज बिहान आगलागी हुँदा दुई घर जलेर ध्वस्त भएका छन्। साढे ३८ लाख बराबरको क्षति भएको छ।
टीकामाया तामाङको घरबाट आज बिहान ५ ४५ बजेतिर आगलागी सुरु भएको थियो। आगोले टीकामाया र बुद्धिबहादुर तामाङको घर जलेर ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार विद्युतको लाइन सर्ट हुँदा घरमा आगलागी भएको आशंका गरिएको छ।
स्थानीयका अनुसार आगोले टीकामायाको घरसहित घरमा रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, फर्निचरका सामान, काठ, डेढ तोला सुन र ७५ हजार रुपैयाँ नगद जलेको छ।
त्यस्तै बुद्धिबहादुरको पनि घरसहित घरमा रहेका सबै सरसामान, १ तोला सुन र ५० हजार रुपैयाँ नगद जलेको प्रहरीले जनाएको छ।
आगोले दुवै घरको ३८ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको डीएसपी श्रेष्ठले बताएका छन् ।
उनका अनुसार टीकामायाको १७ लाख ५० हजार र बुद्धिबहादुरको २१ लाख बराबरको क्षति भएको हो । घटनामा मानवीय र चौपाया क्षति भने नभएको श्रेष्ठले बताएका छन् ।
धरान तथा सुन्दरहरैँचाबाट पुगेका ४ वटा दमकल, स्थानीय र प्रहरीलाई आगो नियन्त्रण गर्न २ घण्टाभन्दा बढी समय लागेको थियो। आगलागी कसरी भएको भन्ने बारेमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।












Discussion about this post