धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका ५ ज्यामिरेमा एक वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन् ।
स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आरोपमा उनकै २२ वर्षीय नाति नीरज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।
कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए ।
राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले भने, ‘विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबुझाइ गरेको र सोही निहुँमा प्रतिशोध साँध्न हत्या गरेको खुलेको छ ।’
कटुवालले खुकुरी प्रयोग गरी बस्नेतको टाउको छिनाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
लेगुवा बजारबाट करिब तीन किलोमीटर दूरीमा रहेको घटनास्थलमा शुक्रबार दिनभर प्रहरीले अनुसन्धान गरेपछि संलग्न रहेको आशंकमा कटुवाललाई पक्राउ गरेको थियो ।
आज (आइतबार) अदालतमा म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post