धरान : धरान विजयपुर १४ स्थित हुक्पा चोङबाङ कल्याण संघले तेस्रो राष्ट्रिय अधिवेशन गरेको छ ।
च्याब्रुङ नाचबाट सुरु भएको अधिवेशनमा ३० जना श्रष्टाहरूको संयुक्त संग्रह हुक्पा चोङबाङ प्रतिभा सृजनाका फूलहरू नामक पुस्तक समेत विमोचन गरिएको छ ।
पुस्तकको समीक्षा कोसी प्रदेश प्रमुख पर्शुराम खापुङका प्रेस संयोजक, लेखक एवम् पत्रकार देवेन्द्र खापुङ हाङले गरे ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम वेघाले आँफू राजनीतिक पार्टीको नेतृत्व गर्दै निर्वाचनमा लडेर उपमेयरमा जितेर आएकाले विगतमा आँफूले जनतासमक्ष गरेको वाचा पूरा गर्ने बताए ।
उनले अहिले धरानमा श्रम संस्कृतिको अभियान चलेकाले यसले गरेको परिणाम र त्यसले दिएको सन्देश महत्त्वपूर्ण हुने बताए ।
एक दशकअघि स्थापना भएको हुक्पा चोङबाङ कल्याण संघले विगतदेखि नै आफ्ना जातिका १८ थरीका पुर्खाहरूलाई एउटैमा समाहित गराउने प्रयत्न गर्दै आएको नरप्रसाद लुम्फुङवाले जानकारी दिए ।
अधिवेशनमा हुक्पा चोङबाङ समुदायबाट रवीन्द्र अधिकारी, मेमोरियल फाउन्डेसन पोखराद्वारा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेकी मनीता हुक्पा चोङबाङलाई सम्मान समेत गरेको थियो ।
यस्तै, कार्यक्रममा हुक्पा चोङबाङ कल्याण संघलाई जग्गा दिने दाता तथा विभिन्न ठाउँका जनप्रतिनिधिहरूलाई सम्मान समेत गरियो ।
शेर बहादुर हुक्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मदनकुमार हुक्पाले स्वागत मंतव्य राखेका थिए ।



















Discussion about this post