इटहरी : इटहरी उपमहानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ ।
उपमहानगरले ‘पेपरलेस’ अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएको हो ।
छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।
‘सबैभन्दा बढी नयाँ घर थपिने इटहरीमा अब अनलाइनबाटै घर नक्सा हुन्छ,’ पौडेलले भने, ‘विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाईल बोकेर दौडिरहन पर्दैन ।’
उनले आर्थिक वर्ष ०८०/८१ भित्रमा नगरलाई पेपरलेस (कागजबिहीन) बनाउने लक्ष्य राखेको बताए ।
उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।
समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई ‘स्मार्टरू’ सहरको रूपमा विकास गर्ने योजना अन्र्तगत अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख पौडेलको भनाइ छ । पहिलो पटक इटहरीबाट अनलाइनबाटै नक्सा पास गर्ने इटहरी १ का आशिष कार्कीलाई सम्मान समेत गरिएको छ ।
यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।
यसरी हुन्छ अनलाइन नक्सा पास
प्राविधिकहरूका अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ‘अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन् ।
ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ । प्रारम्भमा इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको–युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापीनक्सा जस्ता घरजग्गासँग सम्बन्धित आवश्यक कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एटयाच’ गरी पठाइन्छ ।
डिजाइन डेस्कबाट डकुमेन्ट रजिष्ट्रेशन डेस्कमा आइपुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इञ्जिनियरले जाँच गर्छन् । यसपछि इञ्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन् ।
जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको÷नगरेको हेरिन्छ । सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ ।
प्राविधिकहरूका अनुसार यदि तोकिए अनुसारको मापदण्ड पूरा भएको छैन भने सफ्टवेयरलाई त्यसलाई सपोर्ट गर्दैन ।
यसपछि ‘रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ । वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँस गरी सँधियारको दावी विरोध, प्राविधिकबाट नक्सा अनुसारको फिल्ड लगायत जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा गरी अन्तिम घर सम्पन्न प्रमाणपत्र दिनेसम्मका काम अनलाइन प्रणालीबाटै हुन्छ ।
यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत् नक्सा शाखामा पठाउन सक्नेछन् । त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ ।
सबै कागजपत्र पुगेका मितिले २० दिन भित्रमा नक्सा पास हुने बताइएको छ ।














Discussion about this post