धरान : धरानका मेयर हर्क साम्पाङले प्रेसमाथि गरेको अपमानजनक व्यवहारप्रति राजनीतिक दलहरूको आपत्ति जनाएका छन् ।
धरान नगर समितिका राजनीतिक दलहरूले मेयर साम्पाङले प्रेसमाथि गरेको अमर्यादित र अपमानजनक व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाएका हुन् ।
जुन संविधान र विधिमा टेकेर साम्पाङ धरानका मेयर भएका हुन्, उनले त्यसकै विपरीत हुनेगरी नेपाली प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि पटकपटक धावा बोलिरहेको भन्दै आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंङ एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बू र नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवतीरमण राईले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नियोजित उद्देश्य पूरा गर्न र सस्तो प्रचारबाजीका लागि मर्यादित प्रेसमाथि गरिरहेको अमर्यादित व्यवहार र टिप्पणीलाई तत्काल सुधार गरी स्वतन्त्र प्रेसप्रति सम्मान गर्न आग्रह गर्दछौं ।’
मेयर साम्पाङले आँफूलाई विधि, प्रक्रिया र कानुनभन्दा माथि ठानेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रस्तुत गरिरहेको व्यवहार सुधार गर्न पनि दलहरूले सचेत गराएका छन् ।














Discussion about this post