इटहरी : सुनसरीको इटहरीमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल, स्पास्पेनप्रो र डेक्स्ट्रोमेथोर्फान बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक ८ गते साँझ ६ बजे इटहरी उपमहानगरपालिका–१३ स्थित ओम शान्ति भवनमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी चौकी खनार, सुनसरी, अस्थायी प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ निवासी १८ वर्षीय अब्दुल खानले चलाएको प्रदेश १–०२–००१ ह ६४८० नम्बरको सिटी सफारी र सोही सफारीमा सवार १८ वर्षीय मोतिम आलम रहेका छन्।
त्यस्तै, सोही स्थानका १८ वर्षीय सोजिब खानले चलाएको को ३६ प ६४२३ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ हजार १८० क्याप्सुल ट्रामाडोल, ७ हजार ट्याब्लेट स्पास्पेनप्रो र दुई बोतल डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड बरामद गरेको जनाएको छ।
बरामद लागूऔषध, सिटी सफारी र मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
















Discussion about this post