इटहरी : सुनसरीमा बिहीबार (भोलि) सार्वजनिक विदाको दिन पनि नागरिकता वितरण गरिने भएको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्दारा जारी सूचनाअनुसार इद पर्वको अवसरमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छ । तर, सुनसरी प्रशासनले भने सेवा प्रवाह गर्ने जनाएको छ ।
प्रजिअ पाण्डेले जारी गरेको सूचनाअनुसार इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएपनि प्रशासनले नयाँ तथा प्रतिलिपि नागरिकता सेवा, राहदानी सम्बन्धि र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गरिनेछ ।
सूचनाअनुसार वंशजको आधारमा नागरिकता प्राप्त सूचनाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फाराम भर्नुपर्ने, बाबु र आमाको नागरिकताको प्रमाणपत्र, सक्कल जन्मदर्ता प्रमाणपत्र, आमाबुबा र नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपिलगायतका कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै वंशजका आधारमा नागरिकता लिनेहरूको भीड लागेको प्रजिअ पाण्डेले जानकारी दिइन् ।
उनका अनुसार नागरिकता बनाउनेको भीड लागेपछि पालिका विभाजन गरी नागरिकता बनाउन आउनका निम्ति सूचना जारी गरिएको छ ।
‘हामीले निरन्तर नागरिकता वितरण गर्ने हुनाले भीड नगर्न भनेर सूचना जारी गरेका छौँ,’ उनले टाकुरासँग भनिन्, ‘वंशजका आधारमा नागरिकता वितरण गर्ने भएसँगै केही दिनयता निकै भीड बढेको छ, स्वभाविक पनि हो ।’
उनीहरूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम नागरिकता प्राप्त गरेका हुन् ।
धेरैजसोको कागजात पूरा नभएका कारण कागजात पुर्याएर मात्र आउन भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनाअनुसार आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका र शुक्रबार कोसी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्नेछ ।














Discussion about this post