मोरङ : मोरङमा बोलेरोको ठक्करबाट अटोमा सवार दुईजनाको मृत्यु भएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति ७ः४५ बजेतिर मोरङको लेटाङ नगरपालिका ३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो भने अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए ।
उनका अनुसार अटोमा सवार कानेपोखरी ६ बस्ने अन्दाजी ३३ वर्षीया टीका आले मागर घाइते भएकी छन् । उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
मृतक नाबालिका रोशनी टीकाकै छोरी रहेको प्रहरीले जनाएको छ । बोलेरो चालक चालक लेटाङ ६ बस्ने अन्दाजी ४१ वर्षीय सन्तोष घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोलेरो चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post