विराटनगर : विराटनगर महानगरपालिकाको पहलमा स्थानीय प्रशासनले साउन १ गतेदेखि नाकामा कडाई गर्ने तयारी गरेको छ ।
महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।
सामूहिक ऐक्यबद्धताअनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
स्थानीय बजारको प्रवर्द्धन गर्न, उपभोक्तालाई आफ्नै बजारमा सामान खरिद गर्ने बानी बसाल्न र राजश्व वृद्धिका लागि महानगरको आग्रहमा सबै सरोकारवाला निकायको प्रयासमा जोगवनी नाकामा कडाई गरेर तस्करी नियन्त्रणको रणनीति तय गरिएको यादवले बताए ।
यसअघि राजश्व चुहावट नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासन र भन्सारले सय रुपैयाँसम्मको सामान भन्सार नतिरी ल्याउन पाउने नियम बनाएका थिए ।
तर, सरोकारवाला निकायको बेवास्ताले सामान्य उपभोक्ताको नाममा एक पटकमा १० हजार भन्दा बढीका सामान र तस्करले ट्रकमै व्यापारिक सामान भित्र्याएर राजश्व ठगी गर्दै आएको महानगरको दाबी छ ।
सोही कारण पनि अबदेखि एक रुपैयाँको सामान खरिद गरेर ल्याउँदा पनि भन्सार तिर्नुपर्ने भएको हो ।














Discussion about this post