मोरङ : मोरङमा जल्दै गरेको शव बाढीले बगाएको छ ।
बेलबारी ३ कि ८१ वर्षीया लीलामाया कोइरालाको अन्त्येष्टि गर्न परिवारजन र मलामीले शव लिएर खोलामा पुगेर दागबत्ती दिएसँगै बाढीले शव बगाएको हो । उनको चितामा छोरा मेघराजलगायत परिवारजनले दागबत्ती दिए ।
‘मलामीले चितामा मिट्टी दिएर खोलाको डिलमा पनि पुगेका थिएनन् । दागबत्ती दिएको पाँच मिनेट नबित्दै खोलामा अप्रत्याशित बाढी आयो अनि जल्दै गरेको चिता बगायो । खोलामा चिता बनाउदा र दागबत्ती दिँदासम्म बाख्राका पाठा तर्न सक्नेमात्र पानी बग्दै थियो,’ मलामी गएका स्थानीय राजेन्द्र अधिकारीले भने‚ ‘दागबत्ती दिएर मलामी र किरियापुत्री खोलाको डिलमा पनि पुग्न नपाउँदै अचानक ह्वात्तै बाढी आयो । मलामीको भागाभाग मच्चियो, बाढीले जल्दै गरेको चिता नै बगायो ।’
घटना शनिबार साँझ ५ बजेतिरको हो । जल्दै गरेको शव बाढीले बगाएपछि मृतकका दुई छोरा र चार छोरीसहित परिवारजन र मलामीहरू घर फर्किएका थिए ।
केही मलामीहहरूले भने करिब ४ किलोमिटर दक्षिणमा पर्ने सुन्दरहरैचा १ को कुमार गाउँमा पुग्दा जल्दै गरेको शवसहितको चिता अड्किएको फेला पारे ।
अधिकारीका अनुसार त्यहाँ पुगेका मलामीले केही जलेको लिलामायाको शव उठाएर बेलवारीतिर लिएर आएको र बेलवारीमा पर्ने अमना सिसौली सामुदायिक वनमा जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा शव गाडेर घर फर्किएका छन् ।













Discussion about this post