विराटनगर : विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कूलको बसले ठक्कर दिदाँ एकजना बालकको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका १ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्टमेरिज बोर्डिङ स्कूलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट खोटाङ घर भइ बूढीगंगा १ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए ।
उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।
चिकित्सकले दिउँसो ४ः४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
स्कूल बस र चालक विराटनगर महानगरपालिका ४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।












Discussion about this post