इटहरी : इटहरी १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।
मोरङको विराटचोक स्थायी घर भएका दर्शन ढकालले २४ जनाभन्दा बढीको उक्त रकम लिएर फरार भएको पीडितहरूले बताएका छन् ।
पीडितमध्येका विक्रम पोखरेलकाअनुसार ढकालले सञ्चालन गर्दै आएको दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।
तीन दिनका लागि भनेर दर्शनले ४ लाख ८० हजार रुपैयाँ सापट मागेकाले आँफूले दिएको तर १ वर्ष हुन लाग्दा अझै फिर्ता नपाएको अर्का पीडित देवीबहादुर कार्कीले बताए ।
कार्कीले ढकाललाई सुरुवाती समयमा पसल सञ्चालन गर्न सहयोग होस् भन्ने उदेश्यले ३० थान ग्याँसका खाली सिलिण्डर समेत दिएका थिए ।
उनले पैसा फिर्ताका लागि पटकपटक आग्रह गरेपछि ढकालले चेक दिएका थिए । तर बैंकमा रकम नभएपछि सो चेक बाउन्स भएको उनले बताए ।
सोही ठाउँका पुष्प अधिकारीले पनि ढकाललाई सापटी भनेर ५ लाख रुपैयाँ दिएका थिए ।
ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाद २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडित अधिकारीले बताए ।
आइतबार सबै पीडितहरुको अभिलेखीकरण गरेर इलाका प्रहरी कार्यालयमा ठगीविरुद्ध उजुरी दिइने पीडितहरूले बताएका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीम खड्काले प्रहरी कार्यलयमा यसबारे लिखित जाहेरी आइनसकेको बताए ।
यता यसबारे प्रतिक्रिया लिन खोज्दा ढकालले बोक्ने गरेका ५ वटाभन्दा बढी मोबाइल नम्बरमा फोन लागेन । ढकालले ३ वर्ष अघिदेखि राज न्यौपानेको घरको सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएका छन् ।














Discussion about this post