इटहरी : कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओबादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री दिने सहमति गरेको हो ।
यसअघि कांग्रेसले मुख्यमन्त्री चलाएको थियो । कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् ।
उनले विश्वासको मत लिने प्रक्रियामै असंवैधानिक बाटो प्रयोग गरेका थिए । अब फेरी कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको जानकारी दिए । तर, कांग्रेसका डा. शेखर कोइराला पक्ष भने असन्तुष्ट बनेको छ ।
आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय नमान्ने कोइराला पक्षका सांसदहरूको चेतावनी छ । कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन आफूहरूसँग ९ जना कांग्रेसका सांसदको हस्ताक्षर रहेकोले एमालेको २९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री दाबी गर्ने कोइराला समूहको भनाइ छ ।
‘गठबन्धनको निर्णय तोडेर भएपनि केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर ९ सांसदले हस्ताक्षर गरिसकेका छन्’ शेखर पक्षका एक सांसदले भने, ‘अब राप्रपा नआएपनि एमालेले समर्थन गर्ने भनेकोले ४८ सांसदसहित मुख्यमन्त्रीको दावी पेश गर्छौं ।’














Discussion about this post