मोरङ : मोरङको कानेपोखरीमा तीनजना सवार मोटरसाइकललाई बोलेरो (पिकअप) गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनरुप ५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएको डीएसपी श्रेष्ठले बताए ।
दुवैको नोबेल अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार बनेको बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार बिहान नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post