इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा धरान फुटबल क्लबले सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा धरान फुटबल क्लब सुनसरीले गाईघाट फुटबल क्लब, उदयपुरलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा सहज प्रवेश गरेको हो ।
धरान फुटबल क्लबका लागि खेलको ३२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
यसैगरी खेलको ५२ औँ मिनेटमा उनै मिलनले अर्को गोल गर्दै टिमलाई थप मजबुत बनाए । खेलको ६४ औँ मिनेटमा मिलनको पासमा धरानका लागि विनोद राईले अर्को गोल थप गरे । यसैगरी खेलको इञ्जुरी समयमा धरानका लागि सुगम जिसीले थप १ गोल गरे ।
इञ्जुरी समयको केही मिनेटअघि मात्रै मैदान प्रवेश गरेका जिसीले चौथो गोल गर्दै धरानलाई सेमिफाइनलका लागि सहज प्रवेश गराए ।
खेलमा पहिलो हाफमा १ गोलले अग्रता लिएको धरानलाई गोल फर्काउन गाईघाटले पटकपटक अभ्यास गरेपनि शून्यमै स्तब्ध बन्यो ।
गाईघाटका लागि पटकपटक अवसर आएको र गोल पोस्टमा प्रहार भएपनि धरानका गोल किप्पर सचिन श्रेष्ठले रोक्न सफल भए ।
खेलमा स्तब्ध भएसँगै गाईघाट फुटबल क्लब घर फर्किएको छ ।
खेलको म्यान अफ दि म्याच धरानका मिलन राई घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले पुरस्कृत गरे ।
यसअघि शनिबार भएको पहिलो खेलमा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक द योङ्ग ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार कोसी प्रदेशका आठ वटा टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माघ २० गतेसम्म सञ्चालन हुने खेलमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ ।












Discussion about this post