मोरङ : मोरङको कानेपोखरीमा रहेको झुल्के–सुन्तली सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुक बरामद गरिएको छ।
कानेपोखरी–६ सीताधापनजिक रहेको माचभित्र परालले छोपेर राखेको अवस्थामा लोड गरिएको बन्दुकसहित ३ वटा टर्च लाइट, खुकुरी, २ वटा मोबाइल, गाडीको ब्यारिङ र भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद सामुदायिक वन उपभोक्ता समितिको गस्ती टोलीले शुक्रबार फेला पारेको हो।
वन्यजन्तुको चोरी सिकारी गर्ने समूहले छाडेको अवस्थामा वन क्षेत्रमा बन्दुकसहितका सामान फेला परेको थियो। वन उपभोक्ता समितिका अध्यक्ष भीमराज लिम्बूले उक्त सामान प्रहरीलाई बुझाएका हुन्। वन्यजन्तुको सिकार गर्ने समूह भने फरार भएको छ ।
प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नासाथ चोरी सिकारीमा संलग्नहरू फरार भएका छन् ।
फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
‘वन क्षेत्रमा गस्ती गर्दै गएको टोलीलाई देखेपछि वन्यजन्तुको अवैध चोरी सिकारी गर्नेहरु भने फरार भएछन्। सिकार खेल्न प्रयोग गरिएका बन्दुकसहितका सामान भने त्यहीँ छाडेछन्,’ डीएसपी दाहालले भने, ‘वन उपभोक्ता समितिले फेला पारेर प्रहरीलाई बुझाएको छ। यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’














Discussion about this post