इटहरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म हाल चार लेन सडक निर्माण सुरु भएको छ ।
सडक निर्माणका लागि अहिले मोरङको विराटचौकदेखि कानेपोखरी क्षेत्रसहित पूर्वी भेगमा रूख कटान भइरहेको छ ।
७ चैतदेखि सुरु भएको रूख कटान अहिले धमाधम छ । रूख कटान भएपछि स्थानीयबासी दाउराका लागि भीडभित्र ‘लुछालुछ’ गरिरहेको दृश्यसमेत देख्न सकिन्छ ।
रूख कटानका कारण ती ठाउँहरू अहिले ‘बीभत्स’ देखिन्छन् ।
सडक स्तरोन्नति वा विकासका नाममा रूख मास्दा त्यस ठाउँकै सौन्दर्यता मात्रै होइन, मान्छेको हृदय नै दुख्ने विज्ञहरू सुनाउछन् ।
सडक विकास निर्माणका लगि रूख मास्न नपर्ने, तर त्यसलाई स्थानान्तरण गर्न सकिने विज्ञहरू बताउँछन् ।
वनस्पतिविद् तथा विशेषज्ञ डा. भरतराज सुब्बा भन्छन्, ‘सर्न सक्ने रुखहरूलाई लोकेसन ट्याली गरेर जरासहित उखालेर लैजाने प्रविधि छ । प्रायः लोप हुन लागेका बिरुवालाई मास्नु भनेको अत्यन्तै नरमाइलो कुरा हो ।’
वन, जंगल, पर्यावरण जोगाउनु सरकारको पोलिसी अन्तर्गत परेपनि सरकार सुतिरहेकोजस्तो देखिने उनको तर्क छ ।
‘एउटा रुखले बर्षौँदेखि समय खर्चिएर बढेको हुन्छ । हावा, पानीलाई बचाइरहेको हुन्छ । वनस्पति र चराचुरुङ्गीलाई ओत दिइरहेको हुन्छ, त्यो भर्खरै रोपिएको बिरुवाले दिन सक्दैन,’ उनले यसअघि भने, ‘यसबारे सरकारको चासोको विषय किन बन्दैन ? चिन्ता नै गर्दैनन् जस्तो लाग्छ ।’
उखेलेर अर्को ठाउँमा सार्न सकिने रूख, बिरुवाहरू मास्न नहुने उनले सुनाए । बर्खायाममा बाढीका कारण भौतिक तथा मानवीय क्षति भइरहने क्रम बढिरहँदा खोला, नदी आसपास र खाली रहेका ठाउँहरूमा रूख, बिरुवा सार्नुपर्ने उनको भनाइ छ ।
अहिले रूख काट्नुपूर्व आजभन्दा २० वर्षअघि नै अरु बिरुवा रोप्नुपर्ने बताउँदै उनले टाकुरा न्यूजसँग भने, ‘५० वर्षका रूखले प्रकृतिलाई वातावरण बचाएको थियो, अब रोपेका रूखले त्यो बचाउन सम्भव नै छैन । यसमा नेपाल सरकार धेरै पछाडि छ । यो नरमाइलो कुरा हो ।’
सरकारले वन संरक्षण विभिन्न तरिकाले गरिरहेकोजस्तो मात्रै देखिने डा. सुब्बा बताउँछन् । वन संरक्षण गरेजस्तो मात्रै गरेपनि त्यहाँभित्र ‘हालीमुहाली’ चैँ कसैले नियन्त्रण गरेको नदेखिने उनको तर्क छ ।
‘घाँस काट्नेहरूले पनि कुन काट्ने, कुन नकाट्ने थाहा पाउँदैनन् । बिरुवा हुर्किरहेको पनि उनीहरूलाई मतलब हुँदैन,’ सुब्बा भन्छन्, ‘दाउरा पनि सुकेको रूख काट्नु मात्रै होइन । कुनैकुनै सुकेको रूख काट्नु भनेको जीवित रूख भन्दा महत्वपूर्ण हुन्छ । वनले नबुझीकन काम गरिरहेको छ, अध्ययन नै छैन ।’
वन जंगल जोगाउन सरकारले विज्ञ टोली बनाएर अध्ययन गर्नुपर्ने उनले सुझाए ।
सौन्दर्यविज्ञ विक्रमश्री भन्छन्, ‘ठूलो साइजका रूखहरू काटेपनि साना साइजका रूखहरू साह्रै सजिलोगरी सार्न सकिन्छ । अहिले केही दिनदेखि जमिन तातेका कारण बिरुवा सहजै सार्न सकिने मौसम छ ।’
अबका केही महिना बिरुवा सार्न र हुर्काउन सहज हुने उनको अनुभव छ । एसियन हाइवे निर्माणका क्रममा स–साना रूख, बिरुवाहरू डोजरको प्रयोगले काटिनु हृदयविदारक रहेको उनले सुनाए ।
‘यो सिजन बिरुवा हुर्काउन र सार्न सकिने सिजन हो । रूख, बिरुवा किन काट्नु भन्ने प्रश्न मेरो पनि हो,’ श्रीले थपे, ‘वनस्पति निमिट्यान्नै मास्न खोज्नु कि अज्ञानता हो, कि नियत हो ।’
ठूला रूखहरू सार्न नसकिएका कारण दुःखी हुनुको विकल्प नभएपनि साना र २० फुटसम्मका रूख, बिरुवा उखाल्ने, काट्ने र मार्ने भन्दापनि सार्नुपर्ने उनी सुनाउँछन् ।
‘२० फुटसम्मका बिरुवा हाँगा काटेर छाड्ने र केही समयपछि जरा उखेलेर सार्न सकिन्छ । सार्ने मेसिन नहुँदा स्काभेटरको प्रयोगले निकै ठूला बिरुवा पनि सार्न सकिन्छ,’ उनी भन्छन्, ‘एसियन हाइवेमा भएको बाटोमा चिम्टिया माटो छ । चिम्टिया माटो सजिलै झर्दैन, जरामा टाँसिएरै रहने भएका कारण पाँच दिनसम्म पानीले भिजाउने र पछि उखेलेर सार्न सकिन्छ ।’
उनले यी रूखबिरुवा मास्नुको विकल्पमा खोला तटबन्धन नभइरहेको समयमा खोला, नदी आसपास लगेर रोप्नुपर्ने सुझाए ।
तर, श्री ले भनेजस्तो सहज भने छैन । सडक निर्माणका क्रममा अहिले त्यस क्षेत्रका स्थानीयबासी स्वयम् नै दाउराका लागि भनेर रूखका हाँगाहरू ‘लुछालुछ’ गरिरहेका भेटिन्छन् । उनीहरूलाई रूख, बिरूवाको चिन्ता छैन । बरु कसरी हुन्छ, दाउरा भेटिए त्यसमै खुसी हुन्छन् ।
वनस्पतिबारे चासो दिने र त्यसलाई संरक्षण गर्ने मानिसको कमीले वन जंगल मासिदैँ गएको सुनाउँछन्, श्री ।
अझ पीपल जातका बोटहरू एउटा जरा नै भेटियो भने जागिहाल्ने अध्ययनले देखाएको उनी बताउँछन् । ‘मुर्खहरूको अज्ञानताले रुख काटेको हेर्न सकिदैँन,’ उनको चिन्ता छ, ‘हाँगा माथि नजाने खालका त जति फुटका भएपनि रुख सहजै सार्न सकिन्छ ।’
दूधालु रुखहरूका एउटा मात्रै जरो भेटिएपनि सहजै सार्न सकिने उनी बताउँछन् ।
आफूले नजाने वा नसके वनस्पतिसँग जोडिएर काम गरिरहेका मान्छेलाई बोटबिरुवा जिम्मा दिन सकिने उनको भनाइ छ ।
पछिल्लो समय त बनिसकेका सडकखण्डमा डिभाइडरमा रूख रोप्नु मुख्र्याइ रहेको श्री सुनाउँछन् । जंगलमा फैलिएर रहन सक्ने रुखहरू डिभाइडरमा एउटा गमलाजस्तो बक्साभित्र थुनेर राख्नु मूर्खता रहेको उनले बताए ।
एउटा ठूलो रूखबाट पन्छीहरूको संसार रहेको र रूख प्रत्यक्ष जीवहरूसँग जोडिएको उनी बताउँछन् । उनले थपे, ‘रूखहरू जैविक विविधतासँग जोडिएका हुन्छन् । वनस्पति सम्बन्धि ज्ञाता नहुँदा रूख ड्यांग ढालिदियो सकियो ।’
मान्छेहरू वनस्पति सम्बन्धि संवेदनशील नभएकोमा उनको चिन्ता छ । ‘गिद्धले सिनो लुछेजस्तो लुछेका छन् । बच्चाले देख्दा रुखबिरुवा च्यातचुत, काटकुट पार्दा कस्तो संवेदना हुन्छ होला,’ उनले सुस्केरा हाल्दै भने, ‘वनस्पतिलाई नै संवेदनशील बनाउनेगरी चिथरेर । डोजर लगाएर काटिरहेका छन् । बच्चाहरूको हृदयमा वनस्पतिप्रति के हुन्छ संवेदना ?’
काकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा सडक निर्माण हुने जनाए ।
उनका अनुसार वन विभागबाट ६ हजार ८०९ वटा रूख कटान गर्न स्वीकृति लिइएको छ । जसमा सबैभन्दा बढी मोरङमा रूख कटान हुनेछ । यहाँ ५ हजार ३४२ वटा रूख कटान हुनेछ । यसैगरी झापामा एक हजार एक सय १७ र सुनसरीमा एक सय २२ वटा रूख कटान हुनेछन् ।
रुख कटान नगरी स्थानान्तरण गर्ने प्रक्रिया छैन भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अहिले काटेका रुखहरूको दश गुणा बढी रोप्नलाई बजेट छुट्याएका छौँ । उखेलेर फेरि सार्ने विषय मिल्दैन रहेछ ।’
उनले वन विभाग स्वीकृति लिदाँ अहिले काटिएको भन्दा दश गुणा बढी बिरुवा रोप्नलाई पाँच करोड ९७ लाख वन विकास कोषमा जम्मा गरेको बताए । प्रजापतिले भने, ‘पाँच वर्षभित्र दश गुणा रुखलाई हुर्काउनका लागि यो बजेट जम्मा गरिसकेका छौँ ।’
उनका अनुसार डिभिजन वन कार्यालय र वन विभागसँग समन्वय गरेर बिरुवा रोपिनेछ ।
काकडभिट्टादेखि लौकहीसम्म ९५.७६ किलोमिटर सडकको पूर्वी खण्ड ४५ किलोमिटरको रहेको उनले बताए । यसैगरी बाँकी खण्ड पश्चिमतर्फ रहेको र दुई कार्यालय अन्तर्गत काम भइरहेको उनले जनाए ।
‘तीन वर्षमा पुरै निर्माण सक्नुपर्ने गरी काम भइरहेको छ । बजार क्षेत्रमा दुवैतर्फ ‘सर्भिस लेन’ भनेर एक–एक लेनको सडक हुँदा ६ लेनको हुनेछ । जंगल क्षेत्रमा भने चार लेनको सडक निर्माण हुनेछ ।’ उनले २४ देखि ३३ मिटरको सडक निर्माण हुने बताए ।
साना पुलहरू १७ वटा र तीन ठूला पुलको छुट्टै ठेक्का लागेको उनले बताए । उनका अनुसार रतुवा, लोहन्द्रा, बक्राहा पुलको छुट्टै ठेक्का लागेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा ३६२.४७ मिलियन डलरमा सडक निर्माण हुन लागेको हो । यसमा एडिबीको तीन सय मिलियन डलर र नेपाल सरकारको ६२.४७ मिलियन डलर लगानी रहनेछ ।














Discussion about this post