मोरङ : मोरङको उर्लाबारी नगरपालिका ६ स्थित उर्लाबारी-मधुमल्ला सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उर्लाबारी ६ की २७ वर्षीया सीता बोहोरा रहेकी छन् । सोमबार साँझ प्रदेश ०३-००१ क १०९० नम्बरको ट्रिपरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ वर्षीय छोरा प्रशान्त बोहरा घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा सीताको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । छोरा प्रशान्तलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
ठक्कर दिने ट्रिपर र चालक मोरङ मिक्लाजुङका लालबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post