इटहरी : इटहरी २ का २९ वर्षीय आशिष दाहालको कतारमा निधन भएको छ । तीन वर्षअघि कतार गएका दाहालको गत असार ९ गते निधन भएको कतार (दोहा)को अदान हस्पिटलले पुष्टि गरेको छ । असार ९ गते निधन भएपनि पीडित परिवारले भने पाँचदिन अघि मात्रै थाहा पाएका छन् ।
‘सम्पर्कमा नआएपछि त्यहीँ रहेका साथीहरूले खोजी गर्ने क्रममा हस्पिटलमा शव राखिएको छ भनेर पत्ता लगाएछन्,’ मृतकका बुबा खगेन्द्र दाहालले भने, ‘२५ दिनदेखि हस्पिटलमै शव राखिएको छ । नेपाल ल्याउनका निम्ति प्रयास गरिएपनि ल्याउन सकिएको छैन ।’
साताको प्रत्येक शुक्रबार घरमा कुराकानी भइरहने आशिषले तीन सातायता सम्पर्क नगरेपछि उनको खोजी सुरु गरिएको थियो ।
पछिल्लोपटक असार ५ गते आशिषले उनकी बहिनी अस्मितासँग कुरा गरेका थिए । त्यसपछि उनी सम्पर्कमा आएनन् । सम्पर्कमै नआएपछि खोजी गर्ने क्रममा असार २९ गते मात्रै मृत रहेको जानकारी पाएको पीडित खगेन्द्रले बताए ।
‘सधैँ शुक्रबार फोन गथ्र्यो, आमासँग जेठ अन्तिममा कुरा भएको रहेछ । पछि हस्पिटलको रिपोर्टअनुसार असार ९ गते मृत्यु भनेर लेखिएको जानकारी पाएका छौँ,’ उनले भने, ‘अहिले शव नेपाल ल्याउनका लागि ६/७ हजार ‘रियल’ रुपैयाँ माग्ने गरिएको छ ।’
उनले छोराको शव नेपाल ल्याउनका निम्ति आर्थिक समस्यासमेत परेको बताए ।

‘२५ दिनदेखि हस्पिटलमा शव राखिएको छ । ल्याउनका लागि केही स्रोत जुटिरहेको छैन,’ उनले भने, ‘अढाइ लाख खर्च गरेर पठाएका थियौँ । गएको ऋण नै तिर्न सक्ने अवस्था छैन ।’
पीडित बुबाका अनुसार तीन वर्षअघि कतार गएका उनी गएको एक महिनामै बाथरुमा लडेर घाइते भए । त्यसपछि नौ महिना ‘बेड रेस्ट’ गरेर काममा फर्किएका उनी होटलमा ‘कुक’को काम गर्थे ।
पारिवारिक स्रोतका अनुसार आशिषको शव अहिले कतारको अदान हस्पिटलको शव गृहमा राखिएको छ ।
विक्षिप्त रहेका खगेन्द्रले भने, ‘बुढेसकालको सहारा ढल्यो । शव मात्रै नेपाल ल्याउन पाएपनि हुन्थ्यो । के गर्नु आ–आफ्नो भाग्यको खेल रहेछ ।’














Discussion about this post