इटहरी : मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–४ दुलारीबाट बुधबार दिउँसो पक्राउ गरेको हो । दाहालको हत्या गरेर तामाङ फरार भएपछि प्रहरीले सार्वजनिक सवारीसाधन चेकजाँचमा कडाइ गरेको थियो ।
को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर मंगलबार साँझ दाहालको हत्या गरेका हुन् ।
घरमा तामाङ एक्लै बस्दै आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तामाङले आफ्नो मोबाइल चोरी गरेको आरोप दाहालमाथि लगाएका थिए । सोही विषयमा विवाद हुँदा दाहालको हत्या भएको डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।
घटनामा संलग्न उनी १० वर्षअघि एक जनाको हत्या भएको घटनामा दोषी ठहर भएका थिए । आपराधिक पृष्ठभूमिका उनी कर्तव्य ज्यान मुद्दाको सजायमा माफी मिनाहा पाएका थिए । उनले यसअघि २०७१ साल असोज ८ गते ढुंगाले हानेर उर्लाबारी–२ का नवीन राईको हत्या गरेका थिए ।
साविकको उर्लाबारी–२ स्थित उर्लाबारी–मधुमल्ला सडक खण्डमा घाइते अवस्थामा फेला पारेका राईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गर्ने क्रममा विवाद भएपछि ढुंगाले हानेर तामाङले राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।













Discussion about this post