इटहरी : विराटनगरको बाल सुधारगृहबाट सुनसरी घर भएका दुई जना बालक फरार फरार भएका छन् । उनीहरूलाई अदालतको फैसला र आदेशअनुसार विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा राखिएको थियो ।
दुवै जना मंगलबार (आज) दिउँसो ३ बजेतिर भागेका हुन् । फरार हुनेमा एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी ९बलात्कार० मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक छन् ।
कानुनको विवादमा परेर अदालतबाट दोषी ठहर भएका तथा अनुसन्धान गर्नुपर्ने बालकहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ । सुनसरीको कोशी गाउँपालिका–२ र बराहक्षेत्र नगरपालिका–११ घर भएका बालक फरार भएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए ।
उनका अनुसार कोशी–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले २०७९ माघ १६ गते पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएका ती बालकलाई पछि मुद्दाको किनारा लगाउँदा १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला भएको थियो ।
त्यस्तै, अदालतले बराहक्षेत्र–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो । आफूविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी भागेका हुन् ।
प्रमुख चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post