इटहरी : कोशी प्रदेश सरकारले गर्ने भनेको लगानी सम्मेलन सरेको छ । यही माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भनिएको भएपनि तीन महिनापछि सम्मेलन हुने जनाइएको छ ।
बिहीबार (आज) बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयले लगानी सम्मेलन आगामी बैशाख १८ र १९ गते गर्ने भएको छ ।
यसअघि गत असोज १४ गते प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयले प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैद्योगिक वातावरण बनेको सन्देश दिन पहिलोपटक लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो ।
लगानी सम्मेलनको अवधारणा पारित गर्दै माघ ११, १२ र १३ गतेका लागि मिति तय गरेर तयारी गरिएपनि सबै तयारी पूरा नभएको भन्दै मिति सार्नुपरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन र खरिद प्रक्रियामार्फत काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो ।
कतिपय कानुन र नीति संसोधनका लागि केन्दीय सरकारकोसमेत सहयोग आवश्यक परेकाले लगानी सम्मेलन सार्ने निर्णय भएको भण्डारीले जानकारी दिए ।
‘कोशी प्रदेश सरकारले करिब एक खर्बको लागानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ,’ भण्डारीले भने, ‘लगानी सम्मेलनका लागि विभिन्न समितिहरू र सचिवालय गठन भइसकेको छ । अबको समय पर्याप्त भएकाले तयारीको चरण पनि केही हदसम्म पूरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुन्छ, मिति मात्रै सारिएको हो ।’
प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्नेगरी छलफल अघि बढेकोसमेत उनले बताए । अघिल्लो मन्त्रिपरिषद्को बैठक र बिहीबारको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा ६ वटा विधेयक पुग्नेसमेत प्रवक्ता भण्डारीले बताए ।















Discussion about this post